चीनमा बढ्दो मागका कारण एनभिडियाले टीएसएमसीसँग ३ लाख एच२० चिप्स अर्डर गरेको खुलासा

Technology Khabar १४ श्रावण २०८२, बुधबार

काठमाडौं ।

एनभिडियाले गत साता कन्ट्र्याक्ट चिप निर्माता कम्पनी टीएसएमसीसँग ३ लाख एच२० चिप्स अर्डर दिएको दुई स्रोतले बताएका छन्। तीमध्ये एक स्रोतका अनुसार चीनमा उच्च माग देखिएपछि अमेरिकी कम्पनी एनभिडियाले आफ्ना मौज्दात चिप्समै भर पर्ने योजना परिवर्तन गरेको हो।

यसै महिनामा ट्रम्प प्रशासनले एनभिडियालाई चीनमा एच२०ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) बेच्न पुनः अनुमति दिएको थियो। यसअघि अप्रिलमा उन्नत एआई चिप्स चिनियाँ हातमा नपरोस् भन्ने सुरक्षा चिन्ताका कारण यो प्रतिबन्ध लगाइएको थियो।

रोयटर्सका अनुसार सन् २०२३ को अन्त्यतिर अन्य एआई चिप्समा अमेरिकी निर्यात प्रतिबन्ध लागेपछि एनभिडियाले चीनकै लागि विशेष रूपमा एच२० विकास गरेको थियो। एच२०ले एनभिडिया को एच१०० वा नयाँ ब्ल्याकवेल श्रृंखलाका चिप्सजत्तिकै उच्च कम्प्युटिङ शक्ति राख्दैन त्यसैले ती चिप्स चीनबाहेकका बजारमा बिक्री हुन्छन्।

नयाँ अर्डरहरू टीएसएमसीसँग भएको हुँदा, कम्पनीसँग हाल मौज्दात रहेको ६ लाखदेखि ७ लाख एच२० चिप्समा थपिने स्रोतहरूले बताएका छन्।

तुलनाका लागि, अमेरिकी अनुसन्धान संस्था सेमी एनालाइसिसका अनुसार, एनभिडियाले सन् २०२४ मा करिब १० लाख एच२० चिप्स बिक्री गरेको थियो। एनभिडिया का सीईओ जेनसेन हुआङले यसै महिनाको बेइजिङ भ्रमणमा कम्पनीले प्राप्त गर्ने एच२० अर्डरको स्तरले उत्पादन पुनः सुरु गर्ने वा नगर्ने निर्णय हुने बताएका थिए। उनले आपूर्ति शृङ्खला पुनः सुरु गर्न नौ महिना लाग्ने पनि बताएका थिए।

हुआङको भ्रमणपछि द इन्फर्मेशनले एनभिडियाले ग्राहकहरूलाई एच२० चिप्सको मौज्दात सीमित भएको जानकारी दिएको र तत्काल उत्पादन पुनः सुरु गर्ने योजना नभएको जनाएको थियो। एनभिडियाले एच२० चिप्स चीन पठाउन अमेरिकी सरकारले दिने निर्यात अनुमतिपत्र आवश्यक पर्ने बताएको छ। जुलाईको मध्यमा कम्पनीले छिट्टै अनुमति प्राप्त हुने आश्वासन पाएको बताएको थियो।

तर अमेरिकी वाणिज्य मन्त्रालयले ती अनुमति अझै स्वीकृत गरेको छैन। सोमबार एनभिडियाले नयाँ अर्डर वा अनुमतिपत्रको अवस्थाबारे टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ। टीएसएमसीले पनि कुनै टिप्पणी गरेन। अमेरिकी वाणिज्य मन्त्रालयले पनि तुरुन्तै प्रतिक्रिया दिएको छैन।

एनभिडियाले चीनका एच२०चिप्स खरिद गर्न चाहेका कम्पनीहरूलाई अर्डर मात्रा अनुमानसहित नयाँ कागजात पेश गर्न भनेको छ।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया