Technology Khabar १३ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
एप्पलले अन्ततः अर्को वर्ष आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ल्याउने हल्ला छ। एप्पलको पहिलो फोल्डेबल स्मार्टफोनलाई आईफोन फोल्ड भनिने चर्चा रहे पनि डिभाइसको आधिकारिक नाम भने अझै पनि थाहा छैन।
प्रख्यात लीकर डिजिटल च्याट स्टेशनले वेईबो मार्फत आईफोन फोल्डको स्क्रिन साइजहरूको खुलासा गरेका छन्। डिभाइस भित्रको इनर फोल्डिङ्ग डिस्प्ले कथित रूपमा ७.७ इन्चको हुनेछ भने कभर स्क्रिन ५.५ इन्चको हुनेछ। यस स्क्रिन साइजले एन्ड्रोइड संसारमा प्रयोग गरिने भन्दा धेरै फरक आसपेक्ट रेसियो (पक्ष अनुपात) लाई संकेत गर्दछ।
एप्पलको यो डिभाइस निश्चित रूपमा सबैभन्दा ठूलो बुक–स्टायलको फोल्डेबल नहुने भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ। तर एप्पलले निस्सन्देह रुपमा यस डिभाइसको राम्रो पकेटेबिलिटी (खल्तिमा अट्ने) र उपयोगितालाई जोड दिँदै मार्केटिङ्ग गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी डीसीएसले डिभाइस सन् २०२६ मा रिलीज हुनेछ भनि एक पटक फेरि पुष्टि गरेको छ। साथै यस अघिका अफवाहहरूले डिभाइस पहिले नै प्रोटोटाइप परीक्षणमा प्रवेश गरिसकेको र पहिले नै फङ्गसनिङ्ग प्रोटोटाइप सिर्जना गरिएको दाबी गरेका छन्। यसमा फोल्डिङ स्क्रिनको लागि अन्डर–डिस्प्ले सेल्फी क्यामरा हुन वा नहुन सक्ने बताइएको छ भने व्यावहारिक तवरको क्रिज–फ्रि (मुक्त) डिजाइन पनि भएको हल्ला लगातार चलिरहेको छ।
फोल्डेबल खेलमा सामेल हुन एप्पलले यति लामो समय लिनुको मुख्य कारण भनेको एप्पलको क्रिजलेस स्क्रिनको खोजी भएको बताइएको छ र सामसङ डिस्प्लेले अब अन्ततः यसमा सहमत जनाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ श्रावण २०८२, मंगलवार