Technology Khabar १३ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
टेस्लाले क्यालिफोर्नियाको बे एरिया क्षेत्रमा आफ्ना रोबोट्याक्सी सेवा सुरु गर्ने तयारी गर्दै प्रयोगकर्तालाई नयाँ सेवा सर्तहरु पठाएको छ। बिजनेस इन्साइडरले शनिबार पठाइएको सूचना स्क्रिनसटको आधारमा यो रिपोर्ट गरेको हो।
सूचनामा भनिएको छ, “यदि तपाईंको यात्रा क्यालिफोर्नियामा भइरहेको छ भने, उक्त यात्रा फुल सेल्फ ड्राइभिङ (सुपरभाइज्ड) प्रविधि प्रयोग गरी सुरक्षा चालकको साथमा क्यालिफोर्निया पब्लिक युटिलिटिज कमिसनको अनुमति अनुसार सञ्चालन भइरहेको हो।” साथै, क्यालिफोर्नियाबाहिरको यात्रा “स्वायत्त रूपमा” सञ्चालन भइरहेको उल्लेख गरिएको छ। यसले रोयटर्सको एक दिनअघिको रिपोर्टलाई पुष्टि गर्छ।
रोयटर्सका अनुसार अल्फाबेटको वेमो युनिटले जस्तो स्वतन्त्र रूपमा स्वचालित गाडी सञ्चालन गर्न टेस्लाले आवश्यक अनुमति लिएको छैन, न त आवेदन नै दिएको छ। त्यसैले टेस्लाले बे एरियामा स्वतःचालित सेवा सञ्चालन गर्न सक्दैन।
रिपोर्ट अनुसार टेस्लाले आफ्नो सुपरभाइज्ड फुल सेल्फ ड्राइभिङ सफ्टवेयरको परिमार्जित संस्करण प्रयोग गर्नेछ, जसले धेरै ड्राइभिङ कार्य गर्न सक्छ तर सधैं मानव चालकको निगरानी र हस्तक्षेपको तयारी आवश्यक हुन्छ।
यसै साता, टेस्लाका सीईओ इलन मस्कले आय विवरण बैठकमा कम्पनीले सान फ्रान्सिस्को बे एरिया लगायत विभिन्न बजारमा रोबोट्याक्सी सुरु गर्न नियामकीय अनुमति प्राप्त गरिरहेको बताएको छ।
टेस्लाले बिहीबार सीपीयूसीलाई कम्पनीले “कर्मचारीका साथीभाइ” र “छानिएक सार्वजनिक सदस्यहरूलाई” मानव चालकसहितको गाडीमा सवारी सेवा दिने योजना बनाइरहेको बताएको छ। यसका लागि कम्पनीसँग रहेको अनुमति चार्टर सेवाका रूपमा प्रयोग हुनेछ। रोयटर्सका अनुसार, कम्पनीले भाडा उठाउने वा सुरक्षा चालकबिनाका परीक्षणका लागि आवश्यक थप अनुमति अझै लिएको छैन।
क्यालिफोर्नियाको स्वचालित सवारी नियम अनुसार, टेस्लाको अर्को चरण सीपीयूसीसँग सुरक्षा चालकसहितको स्वचालित सवारीको अनुमति माग्नु हुनेछ। तर त्यसका लागि सुरुमा भाडा लिन नमिल्ने पाइलट चरणमा सेवा सञ्चालन गर्नु अनिवार्य हुन्छ।
प्रकाशित: १३ श्रावण २०८२, मंगलवार