च्याटजीपीटीका सहसंस्थापक झाओलाई मेटाले बनायो सुपरइन्टेलिजेन्स ल्याबको प्रमुख वैज्ञानिक

  • Technology Khabar | १२ श्रावण २०८२, सोमबार
च्याटजीपीटीका सहसंस्थापक झाओलाई मेटाले बनायो सुपरइन्टेलिजेन्स ल्याबको प्रमुख वैज्ञानिक

काठमाडौं ।

मेटा प्लेटफर्म्सले च्याटजीपीटीको सह-निर्माता शेङ्जिया झाओलाई सुपरइन्टेलिजेन्स ल्याबको प्रमुख वैज्ञानिक नियुक्त गरेको छ।

शुक्रबार सीईओ मार्क जुकरबर्गले यसबारे जानकारी दिएका हुन्। कम्पनीले उन्नत कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा आफ्नो पहल तीव्र बनाइरहेका बेला यो घोषणा गरिएको हो।

“यस भूमिकामा शेङ्जियाले हाम्रो नयाँ प्रयोगशालाको अनुसन्धान एजेन्डा र वैज्ञानिक दिशा तय गर्नेछन्। उनी सिधै म र एलेक्ससँग काम गर्नेछन्,” जुकरबर्गले थ्रेड्स पोस्टमा लेखेका छन्। यहाँ उनले मेटाका प्रमुख एआई अधिकारी अलेक्जेण्डर वाङको उल्लेख गरेका छन्, जसलाई जुकरबर्गले स्केलएआई स्टार्टअपबाट मेटामा ल्याएका थिए।

झाओ पहिले ओपनएआईमा अनुसन्धान वैज्ञानिक थिए। उनले च्याटजीपीटी, जीपीटी-४ र ओपनएआईका ४.१ र ओ३ जस्ता विभिन्न मिनी मोडेलहरूको सह-निर्माण गरेका थिए।

पछिल्ला केही हप्तामा झाओ ओपनएआई छाडेर मेटा आएका धेरै अनुसन्धानकर्तामध्ये एक हुन्। जुकरबर्गले उन्नत एआई मा अग्रता लिनका लागि प्रतिस्पर्धी कम्पनीहरूबाट प्राविधिकहरू भित्र्याउने रणनीति अपनाएका छन्।

मेटाले सिलिकन भ्यालीकै सर्वाधिक आकर्षक तलब प्याकेजहरू र स्टार्टअपहरू सँग सम्झौता गरेर शीर्ष अनुसन्धानकर्तालाई तान्ने प्रयास गरिरहेको छ, जुन रणनीति एललामा ४ मोडेलको अपेक्षाअनुसार नचलेको प्रदर्शनपछि सुरु गरिएको हो।

मेटाले हालै सुपरइन्टेलिजेन्स ल्याब स्थापना गरेर एललामा मोडेलहरू र दीर्घकालीन कृत्रिम सामान्य बौद्धिकता (एजीआई) सम्बन्धी काम एकीकृत गर्ने प्रयास थालेको हो। थ्रेड्स पोस्ट अनुसार, झाओ यस प्रयोगशालाका सह-संस्थापक हुन्। यो प्रयोगशाला फेयर नामक मेटा को पुरानो एआई अनुसन्धान विभाग (जसको नेतृत्व यान लेकनले गर्छन्) भन्दा पृथक रूपमा सञ्चालन हुन्छ।

जुकरबर्गले मेटा को उद्देश्य “पूर्ण सामान्य बौद्धिकता” निर्माण गर्ने रहेको र यसमा भएका कामहरू ओपन सोर्स रूपमा सार्वजनिक गर्ने योजना रहेको बताएका छन्। यो रणनीति एआई समुदायमा प्रशंसा र चिन्ता दुवैको विषय बनेको छ।

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...