अनुमति नलिई वाइफाइ हटस्पट सेवा सञ्चालन नगर्न दूरसञ्चार प्राधिकरणको निर्देशन, नमाने कारबाही

Technology Khabar ११ श्रावण २०८२, आईतवार

अनुमति नलिई वाइफाइ हटस्पट सेवा सञ्चालन नगर्न दूरसञ्चार प्राधिकरणको निर्देशन, नमाने कारबाही

काठमाडौं ।

अनुमति वाइफाइ हटस्पट सेवा सञ्चालन भइरहेकोमा नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति लिएर मात्र आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवा अन्तर्गत सिमलेस कनेक्टिभिटी, रोमिङ तथा मोबिलिटी सेवा प्रदान गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ।

प्राधिकरणले आज एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै वाइफाइ हटस्पट सेवा सञ्चालनका सम्बन्धमा स्पष्ट निर्देशहरू जारी गरेको हो। सूचनामा देशभर दूरसञ्चार सेवा प्रवाह गर्ने सेवाप्रदायकहरूले वाइफाइ सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने कानुनी र प्राविधिक प्रावधानहरूको उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवा ऐन, २०५३ अन्तर्गत वाइफाइ हटस्पट सेवा सञ्चालन गर्न चाहने सेवाप्रदायकहरूले विनियमावली २०७५ को विनियम २(ङ) र नियम २(च) अनुसार विशेष स्वीकृति प्राप्त गर्नुपर्नेछ। साथै, सेवा प्रयोगकर्ताले ‘लग इन पेज’ मार्फत सेवा उपयोग गर्नु पर्ने व्यवस्था सुनिश्चित गर्नुपर्नेछ।

“वाइफाइ हटस्पट सेवा सञ्चालन गर्ने प्रयोजनका लागि प्रदान गरिएको अनुमतिपत्र बिना सञ्चालन गर्ने कार्य अवैधानिक ठहर्नेछ। यस्तो कार्यले प्रचलित कानुनको उल्लंघन गर्ने हुनाले कानुनी कारबाही गरिने जानकारी गराइन्छ”, सूचनामा भनिएको छ।

टाइप अप्रुभल नलिएका उपकरण प्रयोग गर्न नपाइने

वाइफाइ हटस्पट सेवाका लागि आवश्यक पर्ने राडियो फ्रिक्वेन्सी प्रयोगमा समेत प्राधिकरणले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। वाइडब्यान्ड रेडियो फ्रिक्वेन्सी नीतिअनुसार फ्रिक्वेन्सी मूल्य सम्बन्धी नीति २०७८ को दफा ७(५) अनुसार ४ नोमिनम पावर लिमिट, ब्याकहौल, तथा ब्याकबोन रेस्ट्रिक्शन जस्ता प्रावधानहरू पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

साथै टाइप अप्रुभल प्राप्त नभएका रेडियो उपकरणहरू प्रयोगमा ल्याउन नपाइने पनि स्पष्ट रूपमा जनाइएको छ। प्राधिकरणले टाइप अप्रुभल नलिएका उपकरणको प्रयोगबाट सञ्जालमा अव्यवस्था र सुरक्षाको समस्या आउन सक्ने भन्दै सावधानी अपनाउन सेवाप्रदायकहरूलाई सचेत गराएको छ।

सूचनामा प्राधिकरणले विना अनुमति र कानुन विपरीत ढंगले वाइफाइ हटस्पट सेवा सञ्चालन गर्ने कुनै पनि व्यक्ति, संस्था वा सेवाप्रदायकप्रति कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। यसअर्थमा, प्राधिकरणको निर्देशनलाई अवज्ञा गर्ने कार्यहरूमा संलग्न भएमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया