Technology Khabar १० श्रावण २०८२, शनिबार
काठमाडौं ।
बढ्दो सहरीकरण र घाम बढी पर्ने क्षेत्रको अवस्थालाई ध्यानमा राखेर सौर्य ऊर्जा प्रयोग र ऊर्जा दक्ष घर निर्माणलाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन्।
ऊर्जा उत्पादनभन्दा ऊर्जा बचत तुलनात्मक रूपमा सस्तो र प्रभावकारी हुने भएकाले यसले हरितगृह ग्यास उत्सर्जन घटाउन र वातावरणमैत्री दिगो विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
युरोपियन युनियनअन्तर्गत सञ्चालनमा रहेको स्विच एसिया कार्यक्रममा बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिइएन)द्वारा भरतपुर महानगरपालिकाका प्राविधिक तथा यस क्षेत्रका इञ्जिनियरहरूको लागि आयोजना गरिएको अभिमुखीकरण तथा तालिम कार्यक्रममा सरोकारवालाले बताएका छन् ।
भरतपुर महानगर कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले वातावरण र ऊर्जामैत्री घर निर्माण गरी बढ्दो हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्नुपर्नेमा जोड दिए। उनले घर वा भवन निर्माण गर्दा स्थानीय हावापानीअनुसार बनाउनुपर्ने बताए। भरतपुरमा समेत त्यसका लागि पूर्वाधार तयार भएको उल्लेख गर्दै उनले विकासका कामहरू वातावरणीय प्रभाव नगरी गर्नुपर्नेमा जोड दिए। प्राकृतिक स्रोत र सम्पदालाई ध्यानमा राखेर विकास तथा भौतिक संरचना निर्माण गर्नुपर्ने उनले बताए।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पहिलेजस्तो ठूलो क्षेत्रफलमा घर बनाउने क्रम घटेको र अहिले साना क्षेत्रफलमा घर बनाउँदा वातावरणीय प्रभावले स्वास्थ्यमा असर पुर्याउने खालका घरहरू बन्न थालेको बताए। उनले तीव्र सहरीकरण र आधुनिक जीवनशैलीका कारण घरभित्र तताउने वा चिस्याउने उपकरणहरूको स्थानीय ऊर्जा खपत बढिरहेकाले यो विषयमा महानगरले ध्यान दिनुपर्ने अवस्था आएको जानकारी दिए। उनले घर बनाउँदा बलियो मात्र होइन, ऊर्जा दक्ष घर कसरी बनाउने र स्वच्छ ऊर्जा प्रयोग कसरी बढाउने भन्ने चेतना प्राविधिकहरूले घरवासीहरूमा जगाउनुपर्ने पनि बताए।
भरतपुर महानगर पूर्वाधार महाशाखा प्रमुख सन्तोष आचार्यले वातावरणमैत्री तथा ऊर्जा प्रभावकारी भवन निर्माणका लागि मापदण्ड बनाएर महानगर अघि बढेको जानकारी दिए। भरतपुर महानगरपालिकाले ऊर्जा प्रभावकारी भवन निर्माण कार्यविधि २०८२ स्वीकृत गरेको र बिइएनसँग सम्झौता भइसकेको जानकारी पनि दिए। महानगरको दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि र अभ्यासहरू अवलम्बन गर्ने योजना रहेको उनले बताए।
एसोसिएसन अफ कन्सल्टिङ इञ्जिनियर्स भरतपुरका अध्यक्ष इ विष्णु अधिकारीले बिइएन परियोजनाले सिक्ने र सिकाउने अवसर प्रदान गरेको उल्लेख गर्दै भवन तथा अन्य पूर्वाधारको डिजाइन गर्दा ऊर्जा दक्षता र वातावरणमैत्री मापदण्ड अवलम्बन गर्ने प्रतिबद्धता जनाए।
बिइएनकी परियोजना आर्किटेक्ट सङ्गीता थापा मगरले ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग जडित भवन भनेको कम ऊर्जा प्रयोग गरी उच्च कार्यसम्पादन हासिल गर्ने प्रविधि भएको जानकारी दिए। जलवायु परिवर्तन न्यूनीकरण र दिगो विकासका लक्ष्य पूरा गर्न सहरलाई दिगो र ऊर्जा दक्ष बनाउनु अत्यावश्यक रहेको उनको भनाइ थियो।
उहाँले युरोपियन युनियनको सहयोगमा सञ्चालित बिइएन परियोजनाले नेपालका ७० ओटा स्थानीय तहसँग समन्वय गरी ३४ स्थानमा नीति रूपमा कार्यान्वयन भइसकेको जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिकाले पनि यसलाई नीतिगत रूपमा अवलम्बन गरिसकेको र प्राविधिकहरूलाई दक्ष बनाउँदै जलवायुमैत्री भवनहरूको डिजाइन, निर्माण र जीर्णोद्धारलाई प्रोत्साहन गरी दिगो निर्माण अभ्यासलाई अघि बढाउने छ।
ऊर्जा मैत्री भवन स्वास्थ्यका हिसाबले पनि राम्रो हुने उनको भनाइ थियो। घर निर्माण, सञ्चालन र मर्मतसम्भारमा व्यापक ऊर्जा प्रयोग हुने भएकाले घरमा प्रयोग भएको ऊर्जा परिमाणलाई विकसित समाजको मापकका रूपमा हेरिने उल्लेख गरे। स्थानीय जलवायु अवस्थालाई ध्यानमा राखेर घर निर्माण गर्नुपर्ने हुँदा यसले आरामदायी, निरोगी र कम खर्चिलो आवास दिने परियोजना आर्किटेक्ट मगरले बताए।
तालिममार्फत यहाँका इञ्जिनियरहरूलाई नयाँ प्रविधि र मापदण्डबारे जानकारी गराइएको कार्यक्रमका फोकल पर्सन गेहेन्द्र आचार्यले जानकारी दिए। यसअन्तर्गत तीन दिनसम्म भरतपुरका विभिन्न घर, भवन र पूर्वाधारमा काम गर्ने ६० जना प्राविधिकलाई अभिमुखीकरण र तालिम दिइने उनले बताए।
प्रकाशित: १० श्रावण २०८२, शनिबार