Technology Khabar १० श्रावण २०८२, शनिबार
काठमाडौं ।
स्न्यापच्याटले बिहीबार नयाँ फिचर सार्वजनिक गर्दै प्रयोगकर्ताहरूले घुमफिरबाट फर्किएपछि आफन्त र साथीहरूलाई सुरक्षित रूपमा घर फर्किएको जानकारी दिन सक्ने सुविधा ल्याएको जनाएको छ। यस फिचरको नाम “होम सेफ” राखिएको छ।
यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले पहिले आफ्नो घरको स्थान सेट गर्नुपर्ने हुन्छ। त्यसका लागि स्न्याप म्यापमा बिटमोजीमा ट्याप गरेर “माइ होम” चयन गर्नुपर्छ। त्यसपछि कतै बाहिर निस्कँदा र घर फर्किंदा कुनै मित्रलाई सूचित गर्न चाहेको खण्डमा च्याट खोलेर म्याप आइकनमा ट्याप गरी होम सेफ बटन थिच्नुपर्छ। यसपछि जब तपाईं घर पुग्नुहुन्छ, तपाईंले चयन गरेको साथीलाई च्याटमार्फत स्वचालित रूपमा सूचनाको रूपमा जानकारी पुग्छ।
स्न्यापच्याटका अनुसार यस्तो सूचना केवल उनीहरूलाई मात्र जान्छ जससँग तपाईं पहिले नै आफ्नो स्थान साझेदारी गरिरहनु भएको छ। स्न्याप म्यापमा स्थान साझेदारी स्वतः बन्द रहने भएकाले तपाईंले मञ्जुरी नदिएसम्म कसैले तपाईंको स्थान देख्न वा होम सेफ सूचना प्राप्त गर्न सक्दैन।
“पहिलो डेट, भीडभाड भएको कन्सर्ट वा सप्ताहन्तको यात्राबाट फर्कंदा होम सेफले तपाईंका निकटका साथी वा परिवारजनलाई तपाईं सुरक्षित रूपमा घर फर्कनुभएको छ भन्ने जानकारी दिन सक्नेछ,” स्न्यापच्याट ले आफ्नो ब्लग पोस्टमा लेखेको छ। स्न्यापच्याटको यो नयाँ सुविधा स्न्याप म्याप प्रयोगकर्ताको सङ्ख्या ४० करोड मासिक सक्रिय प्रयोगकर्तामा पुगेको कम्पनीले दुई महिनाअघि घोषणा गरेको समयमा आएको हो।
२०१७ मा सार्वजनिक गरिएको स्न्याप म्याप सुरुमा प्रयोगकर्ताहरूले आफ्ना साथीहरूको स्थान हेर्ने र विश्वभरका सार्वजनिक स्न्यापहरू ब्राउज गर्ने माध्यमका रूपमा ल्याइएको थियो। तर समयसँगै यसले स्थानीय हटस्पटहरू पत्ता लगाउने र घुम्न लायक स्थानहरू खोज्ने सुविधा पनि समावेश गर्न थालेको छ।
प्रकाशित: १० श्रावण २०८२, शनिबार