Technology Khabar १० श्रावण २०८२, शनिबार
काठमाडौं ।
अर्बपति इलन मस्कको स्वामित्वमा रहेको एक्स अब प्रयोगकर्ताहरूका विभिन्न दृष्टिकोण भएका लोकप्रिय पोस्टहरू देखाउन “कम्युनिटी नोट्स” नामक क्राउडसोर्सिङ तथ्य-जाँच प्रणालीको नयाँ तरिका परीक्षण गर्न थालेको छ।
बिहीबार कम्युनिटी नोट्सको एक्स अकाउन्टले केही योगदानकर्ताहरूले कुनै पोस्ट मन पराउने वा नपाराउने कारणको आधारमा प्रश्नको उत्तर दिई रेट गर्न पाउने पाइलट परीक्षण सुरु भएको जानकारी दिएको छ।
यो प्रणाली कम्युनिटी नोट्सले गर्ने तथ्य-जाँच प्रक्रियासँग मिल्दोजुल्दो छ। सटिकताका आधारमा पोस्टहरूलाई केवल अपभोट वा डाउनभोट गर्न दिनुसट्टा कम्युनिटी नोट्सले ब्रिजिङ अल्गोरिदम भन्ने प्रविधिको प्रयोग गर्छ। यसले सामान्यतया फरक विचार राख्ने मानिसहरूबीच सहमति खोज्ने प्रयास गर्छ।
यदि एउटै विचार भएका प्रयोगकर्ताहरूले मिलेर आफ्नै धारणा बढावा दिने प्रयास गरेको खण्डमा अपभोट वा डाउनभोट सजिलै दुरुपयोग हुन सक्थ्यो। यसै कारण पनि यो ल्याइएको टेकक्रञ्चले उल्लेख गरेको छ।
यदि सामान्यतया फरक विचार भएका प्रयोगकर्ताहरूले कुनै तथ्य-जाँच सहि छ भनेर स्वीकार गरे, त्यो टिप्पणी सार्वजनिक रूपमा देखिने गरी प्रकाशित गरिन्छ।
यद्यपि एक्सको प्रणालीलाई ढिलो र व्यापक रूपमा फैलिने गलत सूचनासँग जुध्न असक्षम भनेर आलोचना गरिएको छ, यसै अवधारणालाई अहिले मेटाले पनि आफ्नो तथ्य-जाँच प्रणालीको विकल्पको रूपमा अपनाएको छ।
अब एक्सले कम्युनिटी नोट्सले उत्कृष्ट पोस्टहरू पहिचान गर्न सहयोग पुर्याउन सक्छ कि सक्दैन भन्ने हेर्न खोजिरहेको छ।
आजदेखि कम्युनिटी नोट्सका केही योगदानकर्ताहरूले लाइक पाइरहेका पोस्टहरूमा नयाँ कलआउट देख्न थाल्नेछन्। योगदानकर्ताहरूले त्यसपछि पोस्टलाई रेट गर्न र प्रतिक्रिया दिन पाउनेछन्, जसले यो पोस्ट फरक दृष्टिकोण भएका मानिसहरूबाट पनि राम्रो प्रतिक्रिया पाएको हो कि होइन भन्ने कुरामा एल्गोरिदमलाई जानकारी दिनेछ।
कम्युनिटी नोट्सको एक्स अकाउन्टमा पोस्ट गरिएको एउटा सन्देशमा भनिएको छ, “मानिसहरूले संसार विभाजित छ जस्तो अनुभव गर्छन्, तर कम्युनिटी नोट्सले विवादास्पद विषयहरूमा पनि सहमति हुन सक्छ भन्ने देखाउँछ। यो प्रयोगात्मक नयाँ फिचरले फरक दृष्टिकोणलाई जोड्ने विचार, अन्तर्दृष्टि र राय पत्ता लगाउने प्रयास गर्छ।”
“कम्युनिटी नोट्स विकास गर्ने क्रममा अपनाएको बाटो जस्तै, हामी यो अवधारणा पनि सानो परीक्षणबाट सुरु गरेर जनताको सहयोगमा निर्माण गर्दैछौं। हामी कम्युनिटी नोट्समा जस्तै, तपाईंहरूसँगै सिक्न र सुधार गर्दै जान उत्साहित छौं,” भनिएको छ।
प्रकाशित: १० श्रावण २०८२, शनिबार