भरतपुरमा सर्भरका कारण बायोमेट्रिकमा समस्या

Technology Khabar १० श्रावण २०८२, शनिबार

भरतपुरमा सर्भरका कारण बायोमेट्रिकमा समस्या
सांकेतिक तस्बिर

काठमाडौं ।

भरतपुर महानगरपालिका ११ की ७७ वर्षीया सुमित्रा क्षेत्री दुई दिनदेखि वडा कार्यालयमा धाइरहेकी छिन्। बिहान र दिउँसो गरी दुई पटक उनी अटो चढेर कार्यालय पुग्छिन् तर काम नभएपछि निराश भएर फर्कन्छिन्।

सामाजिक सुरक्षा भत्ता लिनका लागि वडा कार्यालयमा उपस्थित भएर बायोम्याट्रिक गर्नुपर्ने व्यवस्था रहेको छ। आफैँ उपस्थित भएर औँलाको छाप लगाएपछि मात्र प्रमाणित हुन्छ तर वेबसाइटमा समस्या आएका कारण वडा कार्यालयका कर्मचारीले बायोम्याट्रिक गराउन सकेका छैनन्।

दिउँसो आउने वृद्धवृद्धाले बायोम्याट्रिक नखुलेपछि वडाध्यक्ष कमल मल्लको अनुरोधमा कार्यालयका कर्मचारीले बिहान ७ बजेदेखि नै काम गर्न थालेका छन्। बिहान केही समय खुले पनि पुनः उस्तै समस्या आउने गरेको छ।

कार्यालयमा वायोम्याट्रिक गर्न आएकी क्षेत्रीले भनिन्, “बिहान अफिस खुल्छ भनेपछि अटो भाडा १५० रुपियाँ तिरेर आएँ तर काम भएन। १० बजेसम्म बसेर पनि काम हुँदैन भने। त्यसपछि फेरि अटो रिजर्भ गरेर घर गएर खाना खाएर दिउँसो आउँदा पनि काम भएन। सुविधा दिन बसेका कार्यालयले यस्तो दुःख दिन नहुने हो।”

उनी मात्र नभई भरतपुर ११ कै ७८ वर्षीय इन्द्रमाया थापामगर चार पटकसम्म वडा कार्यालय आइसकेकी छिन्। उनले भनिन्, “आउँदा जाँदा चार सय रुपियाँ भाडा लाग्छ। दुई पटक गरेर आठ सय रुपियाँ लागिसक्यो तर काम भएको छैन। चर्को घाममा हामी अशक्त वृद्धवृद्धालाई कति दुःख दिएको होला।”

अहिले वडा नम्बर ११ मा वृद्धवृद्धाले बायोम्याट्रिक गराउन समस्या हुँदै आएको छ। राष्ट्रिय परिचयपत्रको वेबसाइट खुल्न गाह्रो हुने, खुले पनि बायोम्याट्रिक प्रमाणीकरण नगर्ने हुँदा वृद्धवृद्धालाई समस्या भएको हो।

दिउँसो सर्भरमा धेरै समस्या आएपछि वडाध्यक्ष कमल मल्लले बिहानदेखि नै सेवा दिन कर्मचारीलाई अनुरोध गरेका थिए। सोही अनुसार बिहान ७ बजेबाटै कर्मचारीले सेवा दिँदै आएका छन्। बिहान केही काम भए पनि वेबसाइटमा भने समस्या आइराखेको वडा सचिव ओमप्रकाश न्यौपानेले बताए।

वेबसाइट नखुलेर बायोम्याट्रिक गराउन जिल्लाभर समस्या रहेको छ। अन्य पालिकामा पनि यस्तै समस्या छ। चितवन जिल्लाका सात पालिकामध्ये सबैभन्दा धेरै सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा भरतपुर महानगरको वडा नं. ११ मा रहेका छन्। गोरखापत्रबाट

प्रकाशित: १० श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया