वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड

Technology Khabar ९ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

दक्षिण एसियामा छोटो अवधिका जलवायु प्रदूषक (एसएलसिपी) सम्बन्धी अन्तरराष्ट्रिय लघु सम्मेलन वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी र वैज्ञानिक अनुसन्धानलाई थप बलियो बनाउनुपर्ने निष्कर्षसहित सम्पन्न भएको छ।

गोटेनवर्ग विश्वविद्यालय, स्वीडेनको आयोजनामा बिहीबारदेखि यहाँ सुरु भएको सम्मेलनले जलवायु परिवर्तनको मुख्य कारक मानिएको कार्बनडाइअक्साइडपछि दोस्रो मुख्य स्रोत मानिएका मानवद्वारा सिर्जित प्रदूषक नियन्त्रणमा क्षेत्रीय सहयोगलाई संस्थागत रूप दिनुपर्नेमा जोड दिएको छ।

आयोजक गुटेनवर्ग विश्वविद्यालयका प्राध्यापक एवं परियोजना प्रमुख डा पाठकले दक्षिण एसिया बढ्दो जनघनत्व र भौगोलिक अवस्थालगायत कारणले जलवायु परिवर्तन तथा छोटो अवधिका प्रदूषक मानिएका मिथेन, ब्ल्याक कार्बन, हाइड्रोफ्लोरो कार्बनहरूका कारण जोखिममा रहेकाले यसलाई विज्ञान, सहकार्य र चेतनाको संयोजनमार्फत नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

“यो लघु सम्मेलन दक्षिण एसियाको सुरक्षित भविष्य, यहाँ विविध कारणले प्रकृति, मानवस्वाथ्य, खाद्य प्रणाली र समग्र जैविविक विधितामा परिरहेको असरबारे बृहत् छलफल गर्न सफल भएको छ । नेपाल भारतलगायत दक्षिण एसियाली अन्य देशका वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, अध्येता, नीति निर्मातालगायतको सहभागितामा भएको काठमाडौँ सम्मेलनबाट प्रेरित भएर फर्किरहेका छौँ । यसले स्वच्छ हावा र जलवायु सुरक्षित भविष्यका लागि प्रतिबद्ध हुन सघाउ पुगेको छ”, उनले भने।

सम्मेलनमा स्थानीयस्तरमा भोगिरहेका वातावरणीय चुनौती, वायु प्रदूषण र त्यसले जनस्वाथ्यमा पारेका प्रभाव, नेपाल र इण्डो–गङ्गेटिक मैदानमा एसएलसिपी न्यूनीकरणका चुनौती र अवसरहरू, यसको न्यूनीकरणका लागि सीमापार सहकार्य, औद्योगिक, नीतिगत तथा नवप्रवर्तनसम्बन्धी पहललगायत छवटा प्राविधिसत्र तथा अन्य मुख्य वक्ताहरूले विविध विषयमा प्रस्तुतीकरण गरेका थिए।

त्यसअवसरमा त्रिभुवन विश्वविद्यालय रसायनशास्त्रका प्रमुख विनयकुमार झा, त्रिविकै डा भानु न्यौपाने र काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सका वसन्त गिरी, यस मामिलाका भारतीय विज्ञ डा ज्ञान पाण्डे, नेपालका वरिष्ठ वातावरण वैज्ञानिक भुषण तुलाधर, जनकधामका संस्थापक एवं गौआधारित प्राकृतिक जीवनबारे अभियान चलाइरहेका विज्ञ कौशलेन्द्र झाले छोटो अवधिका प्रदूषक नियन्त्रणका लागि अपनाउनुपर्ने वैज्ञानिक तथा वैद्धिक उपायबारे चर्चा गरेका थिए।

यसैगरी नेपाल खुला विश्वविद्यालयका डा यादव जोशी, त्रिभुवन विश्वविद्यालयका डा विनोद पोखरेल र साजेश कुइँकेल, आइआइटी बम्बैका प्राध्यापक हरिशचन्द्र फुलरिया, इसिमोडका पार्थ सारथी महापत्र, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सका सपना भुजेललगायतले एसएलसिपीका विविध पक्षका साथै यसका कारक, समस्या र समाधानबारे प्रस्तुतीकरण गरेका थिए।

यस्तै, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका दीपक ज्ञवाली, उद्योग र नवप्रवर्तन क्षेत्रका भारतीय विज्ञ अनिल पाण्डे, विमल कुमार, पङ्कज त्रिवेदी, योगेश सोनाभानीलगायतले सरकारी पहल, उद्योग क्षेत्रले अपनाउनुपर्ने सावधानी, वन डढेलोको असर, स्वच्छ ऊर्जाको भूमिका र जनस्वास्थ्यलगायत विषयबारे सम्बोधन गरेका थिए।

सम्मेलनका सहभागीहरूले छोटो अवधिका प्रदूषक उत्सर्जनमा हरेक नागरिकको भूमिका रहेकाले बृहत् रूपमा सचेतना अभिवृद्धि, ऊर्जाका वैकल्पिक उपाय प्रयोगमा प्रोत्साहन, बहुराष्ट्रिय सहकार्यमार्फत असर न्यूनीकरणका लागि सशक्त पैरवी गर्नुपर्नेमा जोड दिएका थिए।

सम्मेलनमा नेपाल, भारतलगायत दक्षिण एसियाली अन्य देशका अध्ययता, अनुसन्धानकर्ता, सरकारी निकायका प्रतिनिधि, उद्योगी, नागरिक समाज र अध्यात्मिक क्षेत्रका प्रतिनिधि गरी एक सय २० जनाभन्दा बढीको सहभागिता रहेको थियो । रासस

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया