फोनपेको २० प्रतिशत स्वामित्व लिँदै खेतान समूह

Technology Khabar ६ श्रावण २०८२, मंगलवार

काठमाडौं ।

खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्वमा लिने भएको छ। शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौता गरिसकेको छ।

शेयर खरिद बिक्रीका लागि प्रारम्भिक सम्झौता भएपछि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र थप प्रकृया अगाडि बढ्ने छ।

शुरुवाती समयमा स्पाइस नेपाल (मेरो मोबाइल) हालको (एनसेल) मा लगानी गरेको व्यवसायीक घराना खेतान अब भने फिनटेक उद्योग प्रवेश गर्ने भएको हो।

ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक मनिष थापाका अनुसार खेतान समूहले ग्लोबल इक्विटी फन्डमार्फत फोनपेमा लगानी गर्नेछ। उनले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड र नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड-१ लाई परिचालन गरेर फोनपेमा रणनीतिक लगानी गर्न लागेका लिंक्डइनमार्फत जानकारी दिएका छन्।

खेतान समूहले करिब एक अर्ब ४० करोड रूपैयाँदेखि एक अर्ब ५० करोड रूपैयाँसम्ममा फोन पेको २० प्रतिशत शेयर खरिद गर्ने बताइएको छ।

फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडले राष्ट्र बैंकबाट २०७६ माघ २६ गते भुक्तानी सेवा प्रदायक (पीएसओ) सञ्चालन गर्न अनुमति पाएको थियो । कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ छ।

प्रकाशित: ६ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया