काठमाडौं ।
मंगल ग्रह पहिले वैज्ञानिकहरूले सोचेको भन्दा धेरै वर्षा हुने र पानीले भरिएको ग्रह रहेको नयाँ अध्ययनले देखाएको छ। यो अध्ययनले मंगलको दक्षिणी नोआकिस टेरा क्षेत्रमा फैलिएको ९,००० माइल (१४,४८४ किलोमिटर) भन्दा बढी लम्बाइ भएका प्राचीन उल्टो नदी च्यानलहरूको विश्लेषण गरेको हो।
“हाम्रो काम एउटा नयाँ प्रमाण हो जसले मंगल ग्रह अहिलेको तुलनामा कुनैबेला धेरै जटिल र सक्रिय ग्रह थियो भन्ने देखाउँछ जुन अध्ययनमा संलग्न हुनु निकै रोमाञ्चक कुरा हो,” अध्ययनका प्रमुख युकेको ओपन विश्वविद्यालयका एडम लोजकुटले एक विज्ञप्तिमा भने।
सन् १९७० को दशकको मरिनर ९ यानले सुक्खा नदी च्यानलहरू देखाएपछि वैज्ञानिकहरूलाई मंगल कुनै बेला पानीले भरिएको ग्रह थियो भन्ने थाहा भयो। ती च्यानलहरू ३.५ अर्ब वर्षभन्दा पुराना ठानिन्छन्।
तर, जमिनमा काटिएका नदी च्यानलहरू मात्र पानीको प्रमाण होइनन्। पानी बग्दा वा बाफिँदा त्यहाँ गेग्र्यान जम्मा हुन्थ्यो। कतिपय अवस्थामा यी गेग्र्यानहरू ती खाडलहरूमा देखिन्छन् जुन पहिले पानीले भरिएका ताल थिए। नासाको क्युरियोसिटी रोभर अहिले ग्याल क्रेटरको अन्वेषण गरिरहेको छ, जहाँ पाँच किलोमिटर अग्लो पहाड गेग्र्यानले ढाकिएको छ।
अरू अवस्थामा यी गेग्र्यानहरू नदीको सतहमा जम्मा हुन्थे। समयसँगै गेग्र्यानहरू कठोर बन्दै जान्थे, तर नदी च्यानलहरू र वरपरको भूभाग मौसमका कारण क्षयीकरण भएर हट्थे। बाँकी रहने कठोर गेग्र्यानहरू भने क्षयीकरणबाट जोगिएर अग्लो डाँडोझैँ देखिन्छन्।
भूगर्भशास्त्रीहरूले यिनीहरूलाई ‘फ्लुभियल सिनुएस रिज’ वा साधारण भाषामा ‘इनभर्टेड च्यानल’ भन्छन्।
हाल पीएचडी विद्यार्थी लोजकुटको नेतृत्वमा नासाको मार्स रिकोनेसाँ अर्बिटरको हाइ रेजोल्युसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) क्यामरा, कन्टेक्स्ट क्यामरा र हाल बन्द भएको मार्स ग्लोबल सर्भेयरको लेजर अल्टिमिटर (एमओएलए) बाट प्राप्त तस्बिर र डाटाको अध्ययनका आधारमा नोआकिस टेरामा फैलिएको यस्ता इनभर्टेड च्यानलहरूको ठूलो सञ्जाल पत्ता लागेको लाइभसाइन्सले उल्लेख गरेको छ।
यसअघि, नोआकिस टेरालाई धेरै ध्यान दिइएको थिएन किनभने यहाँ प्रस्ट देखिने नदी च्यानलहरू थिएनन्। तर इन्भर्टेड च्यानलहरूको नक्साङ्कन गर्दा लोजकुटले यस क्षेत्रमा पहिले धेरै मात्रामा पानी रहेको प्रमाण भेट्टाए।
“मंगलको अध्ययन, विशेष गरी नोआकिस टेरा जस्तो कम अन्वेषण गरिएको क्षेत्रमा, निकै रोचक छ, किनभने यो वातावरण अर्बौँ वर्षदेखि लगभग अपरिवर्तित छ,” लोजकुटले भने। “यो एउटा टाइम क्याप्सुल हो जसले आधारभूत भौगर्भिक प्रक्रियाहरूलाई त्यस्तो तरिकाले अभिलेख गर्छ, जुन पृथ्वीमा सम्भव छैन।”
केही इन्भर्टेड च्यानलहरू एक्लै टुक्राहरूको रूपमा छन् जसले अर्बौँ वर्षसम्म मौसमको प्रभाव सहन सकेका छन्। अन्य च्यानलहरू चाहिँ अझ पूर्ण अवस्थामा छन्, सयौँ माइल लम्बाइमा फैलिएका छन् र दर्जनौँ गज अग्ला छन्।

यसरी फैलिएको इन्भर्टेड अर्थात् उल्टो च्यानलहरूको सञ्जाल आकस्मिक बाढीबाट बनेको होइन भन्ने लोजकुटको तर्क छ। बरु यी च्यानलहरू लगभग ३.७ अर्ब वर्ष पहिले नोआकियन युगबाट हेसेपेरियन युगमा संक्रमण भइरहेको बेला स्थिर जलवायुमा बनेको देखिन्छ।
सबैभन्दा चासोको कुरा के छ भने यी इन्भर्टेड च्यानलहरू बनाउन आवश्यक पानी असिना वा हिउँबाट आएको हुनसक्छ। वास्तवमा, नोआकिस टेरामा यति ठूलो च्यानल सञ्जाल देखिनुका आधारमा भन्न सकिन्छ कि यो क्षेत्र कुनै बेला न्यानो र भिजेको जलवायुमा धेरै वर्षा हुने स्थान थियो।
मंगल ग्रह अहिलेको जस्तो चिसो र उजाड मरुभूमि नभएर कुनै बेला पृथ्वी जस्तै देखिने ग्रह थियो भन्ने यो थप प्रमाण हो। लोजकुटले आफ्नो अध्ययनको निष्कर्ष बेलायतको डर्हम विश्वविद्यालयमा जुलाई ७ देखि ११ सम्म आयोजित रोयल एस्ट्रोनोमिकल सोसाइटीको नेसनल एस्ट्रोनोमी मिटिङमा प्रस्तुत गरेका हुन्।
प्रकाशित: ६ श्रावण २०८२, मंगलवार