
काठमाडौं ।
गुगलको एआई-सञ्चालित सर्च इन्जिनलाई चुनौती दिइरहेको एनभिडियाको लगानी रहेको पर्प्लेक्सिटी एआई नामक स्टार्टअपले मोबाइल उपकरण निर्माताहरूसँग आफ्ना नयाँ कमेट ब्राउजर स्मार्टफोनहरुमा प्रि-इन्स्टल गर्न छलफल गरिरहेको छ। यसबारे कम्पनीका सीईओ अरविन्द श्रीनिवासले शुक्रबार रोयटर्सलाई दिएका हुन्।
यो कदमले पर्प्लेक्सिटीको पहुँचलाई निकै विस्तार गर्न सक्छ, किनकि मानिसहरू प्रायः आफ्नो मोबाइलमा पहिले नै इन्स्टल भएको वा डिफल्ट सेट गरिएको ब्राउजर प्रयोग गर्न रुचाउँछन्, जसले कम्पनीका एआई टुलहरू नियमित रूपमा प्रयोग गरिने सम्भावना बढाउँछ।
“मोबाइल निर्माताहरूलाई क्रोमबाट कमेटमा डिफल्ट ब्राउजर बदल्न सजिलो छैन,” श्रीनिवासले भने।
रोयटर्सका अनुसार हाल डेस्कटपमा मात्र बीटा संस्करणमा उपलब्ध कमेट ब्राउजरले पर्प्लेक्सिटीको एआई सिधा वेब ब्राउजिङमा जोड्छ। यसले प्रयोगकर्ताहरूलाई इमेल, क्यालेन्डर वा ब्राउजिङ हिस्ट्रीजस्ता व्यक्तिगत डेटा सम्बन्धी प्रश्न सोध्न र मिटिङ शेड्युल गर्न वा वेबपेजहरू सारांशमा पढ्न जस्ता काम गर्न दिन्छ।
श्रीनिवासका अनुसार कम्पनीले केही लाख परीक्षणकर्ताका लागि डेस्कटप संस्करण स्थिर बनाएपछि अर्को वर्ष “दशौँदेखि सयौँ मिलियन” प्रयोगकर्तालाई लक्षित गर्ने लक्ष्य राखेको छ।
कम्पनीको प्रयासले ब्राउजरहरू “एजेन्टिक एआई” क्षमतातर्फ जाँदैछन् भन्ने यस्तो प्रवृत्ति देखाउँछ जसले थोरै मानवीय हस्तक्षेपमा निर्णय लिइर कार्य सम्पन्न गर्न सक्छन्।
प्रकाशित: ६ श्रावण २०८२, मंगलवार