Technology Khabar ५ श्रावण २०८२, सोमबार
काठमाडौं ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिर डिजिटल मुद्रालाई (स्टेबलक्वाइन) नियमन गर्ने विधेयकमा हस्ताक्षर गरेपछि सोमबार क्रिप्टोसम्बन्धी कम्पनीहरूको सेयरमा बढोत्तरी भएको छ।
ट्रम्पले शुक्रबार राति जिनियस एक्टमा हस्ताक्षर गरेका हुन्, जुन क्रिप्टो समर्थकहरूका लागि ठूलो जितका रूपमा हेरिएको छ। उनीहरूले लामो समयदेखि क्रिप्टो उद्योगलाई कानुनी वैधता दिने नियामकीय ढाँचा माग गर्दै आएका थिए।
यो विधेयक प्रतिनिधि सभाबाट ३०८ भोटको समर्थन र १२२ भोटको विपक्षमा पारित भएको थियो। डेमोक्र्याट सांसदहरूको झन्डै आधा र अधिकांश रिपब्लिकन सांसदहरूले यसको समर्थन गरेका थिए। यसअघि यो विधेयक सिनेटबाट पनि पारित भइसकेको थियो।
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन सोमबार करिब १ प्रतिशतले बढेको छ, यद्यपि यो गत हप्ताको आफ्नो कीर्तिमानी १२३, १५३ डलरभन्दा अझै ३ प्रतिशतले तल छ।
नयाँ विधेयकअनुसार नियमनमा परेका स्थिर डिजिटल मुद्रामा ब्याज वा आम्दानी निषेध गरिएको छ। जर्मनको डोइच बैंकले यस कदमका कारण इथेरियमको मूल्यमा वृद्धि भइरहेको बताएको छ। लगानीकर्ता अब ब्याज आर्जनको विकल्पको रूपमा विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथेरियमतर्फ सरेका छन्।
इथरको पछिल्लो कारोबार मूल्य ३७८३.२ डलर पुगेको छ जुन डिसेम्बर २०२४ यता कै उच्चतम हो। अमेरिकामा सूचीबद्ध ती कम्पनीहरूको सेयर मूल्य सोमबार बढेको छ, जसले हालैका दिनमा आफ्नो सम्पत्तिमा क्रिप्टोकरेन्सी थपेका छन्।
टेक अर्बपति पीटर थिएलको लगानी रहेको र फन्डस्ट्र्याटका टम ली अध्यक्ष रहेको बिटमाइनको सेयर ५.३ प्रतिशतले बढ्यो। अन्य इथर राख्ने कम्पनीहरू बिट डिजिटल, बीटीसीएस र शार्पलिंक गेमिङको सेयर क्रमशः ३.१ देखि १२.६ प्रतिशतले वृद्धि भयो।
स्थिर डिजिटल मुद्रा जारीकर्ता सर्कल इन्टरनेटको सेयर १.९ प्रतिशतले बढ्दा क्रिप्टो एक्सचेन्ज कम्पनी कोइनबेस ग्लोबलको सेयर २ प्रतिशतले उकालो लागेको छ।
डेलावेयरस्थित कम्पनी गेमस्क्वायर होल्डिङ्सले क्रिप्टोसम्बन्धी लगानीका लागि केही सेयर बिक्री गर्ने घोषणा गरेपछि यसको सेयर ४.६ प्रतिशतले बढेको छ।
गेमस्टपजस्ता कम्पनीहरू पनि स्ट्र्याटेजीको बाटो पछ्याउँदै आफ्नो वासलातमा क्रिप्टो थप्न थालेका छन्। बिटक्वाइनको सबैभन्दा ठूलो कर्पोरेट होल्डर रहेको स्ट्र्याटेजीको सेयर २०२० यता झन्डै ३,००० प्रतिशतले बढिसकेको छ र सोमबार मात्र २.२ प्रतिशतले उकालो लागेको छ।
अन्य क्रिप्टोकरेन्सीहरू पनि बढेका छन्, जहाँ सोलाना फेब्रुअरी यताकै उच्च मूल्यमा पुगेको छ। प्रोशेयर अल्ट्रा सोलाना ईटीएफको सेयर पनि १६.२ प्रतिशतले उकालो लागेको छ। कोइनगेकोको तथ्याङ्कअनुसार क्रिप्टो बजारको कुल मूल्य शुक्रबार ४ ट्रिलियन डलर पुगेको हो।
प्रकाशित: ५ श्रावण २०८२, सोमबार