आउटेजपछि सुचारु भयो अलास्का एयरलाइन्सको सेवा

Technology Khabar ५ श्रावण २०८२, सोमबार

काठमाडौं ।

अमेरिकी विमान सेवा प्रदायक अलास्का एयरलाइन्सले आइतबार राति सूचना प्रविधिमा आएको अवरोधका कारण करिब तीन घण्टासम्म सबै उडानहरू रोकिएपछि पुनः सञ्चालन सुरु गरेको छ। यो एक वर्षको अवधिमा दोस्रोपटक हो, जब कम्पनीले आफ्ना सबै विमानहरू ग्राउन्ड गर्नुपरेको हो।

कम्पनीले आइतबार राति करिब ८ बजे (स्थानीय समयअनुसार प्यासिफिक टाइम) अलास्का र होराइजन एयरका सबै उडानहरूका लागि प्रणालीगत रूपमा ग्राउन्ड स्टपको अनुरोध गरेको थियो। यो रोक ११ बजे हटाइएको कम्पनीले जनाएको छ।

“हामी विमान र चालकदललाई पुनः व्यवस्थित गरिरहेका छौं, त्यसैले हाम्रो उडानहरूमा केही असर पर्ने सम्भावना छ। हाम्रो सम्पूर्ण सेवा पूर्ववत हुन केही समय लाग्नेछ,” सिएटलमा मुख्यालय रहेको कम्पनीले बताएको छ। अलास्काले आइटी अवरोधको प्रकृति तत्काल खुलाएको छैन।
यसअघि अप्रिल २०२४ मा पनि विमानको तौल र सन्तुलन गणना गर्ने प्रणालीमा समस्या आएपछि कम्पनीले आफ्ना सबै उडानहरू रोकेको थियो।

रोयटर्सका अनुसार अलास्का एयर ग्रुपसँग वेबसाइट अनुसार हाल २३८ वटा बोइङ ७३७ र ८७ वटा एम्ब्रेयर १७५ मोडेलका विमानहरूको सक्रिय समूह रहेको छ। जुन महिनामा अलास्का एयर ग्रुपको स्वामित्वमा रहेको हवाइयन एयरलाइन्सले आफ्नो केही आइटी प्रणाली साइबर हमलाबाट प्रभावित भएको बताएको थियो। उक्त घटनाले आर्थिक असर कति पार्‍यो भन्नेबारे अलास्का एयर ग्रुपले अझै मूल्यांकन गरिरहेको जनाएको छ।

अलास्काको आइटी समस्या सार्वजनिक भइरहँदा प्रविधि कम्पनीहरू गुगल र पालो अल्टो नेटवर्क्सले “स्क्याटर्ड स्पाइडर” नामक ह्याकर समूहले हवाई क्षेत्रप्रति चासो देखाएको चेतावनी दिएका छन्।

क्यानडाको वेस्टजेट एयरलाइन्स पनि जुन महिनामा अनिर्दिष्ट साइबर घटनाबाट प्रभावित भएको थियो भने अस्ट्रेलियाको कान्टास एयरलाइन्समा जुलाईमा साइबर आक्रमण हुँदा लाखौं ग्राहकको व्यक्तिगत जानकारी चुहिएको थियो। तर यी घटनाले उडानहरूमा असर पारेका थिएनन्।
यता, माइक्रोसफ्टले पनि आइतबार सरकारी निकायहरू र व्यवसायहरूले प्रयोग गर्ने सर्भर सफ्टवेयरमा “सक्रिय आक्रमणहरू” भइरहेको बताएको छ।

उक्त आक्रमण र अलास्काको आइटी अवरोधबीच सम्बन्ध छ कि छैन भन्नेबारे सोधिएको प्रश्नमा कम्पनीले तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया