तालिम शिक्षा प्रणाली प्रयोगशालाको कार्ययोजना आरम्भ

Technology Khabar ५ श्रावण २०८२, सोमबार

काठमाडौं ।

काठमाडौँ विश्वविद्यालयद्वारा प्राविधिक व्यावसायिक शिक्षा र तालिम शिक्षा प्रणाली प्रयोगशालाको तेस्रो चरणको कार्ययोजना सुरु भएको छ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्विस विकास नियोगको प्राविधिक सहयोगमा नेपालको प्राविधिक व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरु पहिचान गरी कार्यान्वयनमा ल्याउँदै समस्या समाधानमा सहजता पुर्याउने उद्देश्यका साथ ‘शिक्षा प्रणाली प्रयोगशाला (आइल्याब)’को तेस्रो संस्करण सुरु भएको हो।

नेपालमा सन् २०२३ देखि सुरु भएको आइल्याबअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रसँग सम्बन्धित उद्योगी, शिक्षालय, स्थानीय पालिका, प्रदेश सरकारका प्रतिनिधि, सङ्घीय सरकारका प्रतिनिधिसहितका  सरोकारवालाको सहभागिता रहेको छ।

छ महिनासम्म सञ्चालन हुने यो कार्यमा प्रदेशगत रुपमा ६ देखि आठ जनासम्म सदस्य भएको समूहबीच प्रतिस्पर्धा हुने कुसोडका सहायक डिन डा प्रकाशचन्द्र भट्टराईले जानकारी दिए। विश्वविद्यालयले ललितपुरको गोदावरीमा आयोजना गरेको दुई दिवसीय कार्यशालामा सहभागी लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्वासे केसीले नेपालको सन्दर्भ प्राविधिक शिक्षामा नभएको अवस्थामा बजारले खोजेअनुसारको दक्ष जनशक्ति तयारी गर्न यो परियोजनाले सहयोग पुर्याउने बताए।

“सङ्घसंस्था, प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिलाई अभिमुखीरण गरेर सहयोग गरेको छ, प्राविधिक शिक्षामा भएको नकारात्मक भाष्य चिर्दै समाज परिवर्तन गर्न सहयोग पुर्याउने छ, उद्योगी–व्यवसायीको मागअनुसारको दक्ष जनशक्ति तयार गर्न यो परियोजनाले सहयोग गर्नेछ, रोजगारी सृजना गर्ने र उद्यमी तयार गर्नेछ, उद्योगको आवश्यकताअनुसार दक्ष जनशक्तिको विकास गर्न सहयोग पुर्याउने छ”, सहायक डिन डा. भट्टराईले भने।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यो परियोजनाले पिछडिएका, सीमान्तकृत समुदायको उद्यमशील तथा क्षमता अभिवृद्धिका लागि जोड दिने विश्वास व्यक्त गरे। “छ महिना लक्ष्यमा पुग्न सक्छौँ, छ महिनापछि प्रभाव देखिनेगरी काम गर्छौं, नयाँ सोच विकसित भएर आएको छ, यसलाई हामी प्रभावकारी रुपले अगाडि बढाउने प्रयास गर्नेछौँ, गाउँघर, समाजको आवश्यकताअनुसारको तालिम दिएर प्रशिक्षण दिन सक्ने जनशक्ति तयार गरी गाउँसमाजमा थप प्रशिक्षण सञ्चालन गरी पिछडिएका, सीमान्तकृत समुदायको उद्यमशील तथा क्षमता अभिवृद्धिका लागि जोड दिनेछौँ”, प्रमुख कोइरालाले भने।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले यो परियोजना धेरै महत्वपूर्ण कार्यक्रम भएको बताए। “अहिले नेपालमा ठूलो समस्या रोजगारी हो, विदेश जाने युवालाई विमानस्थलमा रोकेर त समाधान हुँदैन, सीपसम्बन्धी तालिम मात्रै दिएर छोडेर पनि हुँदैन, सीपसहित रोजगारी दिने र उद्यमशील बनाउन यो कार्यक्रमले सहयोग गरेको छ”, उनले भने। नगरप्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाले धूप बनाउने तालिम दिएर बौद्ध र स्वयम्भूमा विदेशबाट आउने धूपलाई रोक्दै यहीँको श्रम, सीप र उत्पादनको उपभोग बढाउन सहयोग गरेको बताए। उनले उद्यमी हुन चाहनेहरुका लागि सीपका साथै उद्यमशील बन्न प्रोत्साहनसहित अनुदान र औजारहरु पनि दिने गरेको उनले बताए।

कार्यशालामा सहजीकरण गर्दै पूर्वडिन तथा प्राध्यापक डा महेशनाथ पराजुलीले मानव सभ्यताको विकास सिक्ने र सिकाउने प्रक्रियाबाट क्रमिक रुपमा भएको भन्दै विद्यालयको प्रारम्भ हुँदै शिक्षाको विकास भएको बताए । उनले सुरुदेखि  नै सीप र कामका साथै ज्ञान र शास्त्रको कुरा गर्ने दुई किसिमका शिक्षाको विकास भएको जानकारी गराए। प्राडा पराजुलीले शिक्षा विभेदको माध्यम हुनसक्ने भन्दै यसलाई ध्यान दिएर समयसापेक्ष समावेशी र पहुँचयुक्त बनाइनुपर्छ भन्नेमा जोड दिए।

यो परियोजनामा प्राविधिक शिक्षा क्षेत्रमा कार्यरत विज्ञ र प्राविधिक शिक्षासँग सम्बन्धित विभिन्न परियोजनामा काम गर्ने सम्बन्धित विज्ञ तथा सरोकारवालाहरु समावेश भएको कुसोडको प्राविधिक शिक्षा स्नातकोत्तर तहको सम्पर्क व्यक्ति डा प्रकाशकुमार पौडेलले जानकारी गराए। रासस

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया