Technology Khabar ५ श्रावण २०८२, सोमबार
काठमाडौं ।
टिकटकको मुख्य कम्पनी बाइटडान्सले स्मार्ट ग्लासेस बजारमा प्रवेश गर्ने पछिल्लो कम्पनी हुने भएको छ।
बाइटडान्सले आफ्नै मिक्स्ड रियालिटी ग्लासेस विकास गर्न सक्रिय रूपमा काम गरिरहेको पछिल्ला रिपोर्टहरूले उल्लेख गरेको छ। यस डिभाइसले मेटाको एआर/भीआर प्रोडक्टहरूसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।
यी स्मार्ट ग्लासेसहरूको विकास बाइटडान्सको स्टार्टअप कम्पनी पिको मार्फत भइरहेको बताइएको छ। यो कम्पनी पहिलेदेखि नै भीआर डिभाइस पिको ४ को लागि परिचित रहेको छ।
नयाँ डिभाइस कम्प्याक्ट र लाइटवेट (हल्का) हुने अपेक्षा गरिएको छ भने यसको डिजाइन नियमित चश्माको जस्तै हुने बताइएको छ। बाइटडान्सले एआर/भीआरको क्षेत्रमा अझ सहज र दैनिक अनुभव प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गरिएको छ।
यदि यी योजनाहरू साकार भएको खण्डमा भने बाइटडान्सले मेटा क्वेस्ट, स्न्याप स्पेक्टेकल्स र एप्पल भिजन प्रो जस्ता प्रख्यात डिभाइसहरूसँग सिधै प्राविधिक दौडमा प्रवेश गर्नेछ। साथै यसले संवर्धित र भर्चुअल रियालिटी क्षेत्रमा गम्भीर खेलाडी बन्ने आफ्नो महत्वाकांक्षा देखाएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ श्रावण २०८२, सोमबार