काठमाडौं ।
चितवनको कालिका नगरपालिकाले सुरु गरेको जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने कार्य (स्मार्ट ठेगाना प्रणाली) बारे अमेरिकामा छलफल भएको छ।
अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसँग गैरआवासीय नेपाली, त्यहाँस्थित नेपाली राजदूत तथा सहभागी राजनीतिज्ञरुले अमेरिकी राजधानी वासिङ्टन डिसीमा प्रयोग गरिएको यो प्रणाली कालिकाले अवलम्बन गरेकामा प्रशंसा गरेका हुन्।
डिसीस्थित नेपाली राजदूतावासमा भएको छलफलमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले कालिका नगरपालिकाले सुरु गरेको स्मार्ट ठेगाना प्रणालीको प्रशंसा गरेको नगरप्रमुख रेग्मीले जानकारी दिए।
आज भर्जिनियामा भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा पनि जिपिएस प्रणालीबाट घर नम्बर राख्ने (स्मार्ट ठेगाना प्रणाली) बारे आफूले जानकारी दिएको उनले बताए।
कालिकाले जिपिएस प्रणालीबाट नगरको नक्साङ्कन, सडक रेखाङ्कन र नामकरण थालेको छ। रासस
प्रकाशित: ३ श्रावण २०८२, शनिबार