किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण

  • Technology Khabar | ३ श्रावण २०८२, शनिबार
किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण
सांकेतिक तस्विर

काठमाडौं ।

बाँकेको बैजनाथ गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज होस् भन्ने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई-लोडिङ रिक्सा वितरण गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा किसानसँग पालिका प्रमुख कार्यक्रमका लागि विनियोजन गरिएको बजेटबाट छनोटमा परेका किसानलाई ७० प्रतिशत अनुदानमा ई–लोडिङ रिक्सा प्रदान गरिएको हो।

ई-लोडिङ रिक्सामा अनुदान दिनका लागि गाउँपालिकाले उक्त आर्थिक वर्षमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानले उत्पादन गरेको तरकारी र खाद्यान्न बालीलाई रिक्सामा लोड गरी बजारसम्म लगेर बिक्री गर्न सहज र सरल होस भन्ने उदेश्यले ई-लोडिङ रिक्सा प्रदान गरिएको जानकारी दिएका छन्। उनले अब किसानलाई आफ्नो उत्पादन बजारमा पुर्‍याउन कुनै समस्या नहुने पनि बताए।

गाउँपालिकाको कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले ई–लोडिङ रिक्सालाई सही काममा प्रयोग गर्न किसानहरुसँग आग्रह गरे। उनले विभिन्न चरणका प्रक्रिया पुरा गरेर ई–लोडिङ रिक्सा वितरण गरिएको पनि बताए।

ईलोडिङ रिक्सा ७० प्रतिशत अनुदानमा पाएका किसानहरु रिक्सा पाउँदा धेरै खुसी देखिएका थिए । बैजनाथ गाउँपालिकाले किसानको उन्नति र प्रगतिमा शुरुदेखि नै साथ दिंदै आएको उनीहरुको भनाइ थियो।

प्रकाशित: ३ श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...