Technology Khabar ३ श्रावण २०८२, शनिबार
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफरी एपस्टाइनलाई लेखेको पत्रका बिषयमा ‘द वाल स्ट्रिट जर्नल’ र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने चेतावनी दिएका छन्।
सन् २००३ मा एपस्टिनको ५० औँ जन्मदिनको नोटसङ्ग्रहमा एक नग्न महिलाको स्केच र ट्रम्पको हस्ताक्षर सहितको पत्र समावेश गरिएको थियो।
उक्त पत्रिकाले पत्रको पुनरावलोकन गरेको तर फोटो नछापिएको जनाएको छ।
ट्रम्पले ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “मैले रुपर्ट मर्डोकलाई यो अफवाह हो भनेको र नक्कली सामग्री (फेक स्टोरी) नछाप्न भनेको थिएँ। “तर उहाँले छाप्नुभयो, अब म उहाँको काम र उहाँको ‘न्यून दर्जा’को पत्रिकाविरूद्ध मुद्दा दायर गर्छु,” उनले लेखेका छन्।
यसअघि वाल स्ट्रिट जर्नलकी प्रधान सम्पादक एम्मा टकरलाई ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिट र राष्ट्रपति ट्रम्पले उक्त पत्र नक्कली भएको बताएका थिए। रिपब्लिकन राष्ट्रपति ट्रम्पले उक्त समाचारलाई ‘गलत, दुर्भावनापूर्ण र अपमानजनक’ भनेका छन्।
पोस्टमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले द वाल स्ट्रिट जर्नल, न्यूजकर्प र रुपर्ट मर्डोकविरुद्ध चाँडै मुद्दा दायर गर्नुहुनेछ। प्रेसले सत्यवादी हुन सिक्नुपर्छ र सम्भवतः अस्तित्वमा पनि नभएका स्रोतहरूमा भरोसा गर्नु हुँदैन।”
ट्रम्पले एपस्टीनसँगको आफ्नो विगतको सम्बन्धलाई लिएर पहिले नै कडा आलोचनाको सामना गरेका थिए। उनको प्रशासनले धनी र शक्तिशाली व्यक्तिहरूको रक्षा गर्न एपस्टिनको अपराधको गलत विवरणहरू ढाकछोप गरिरहेको दावी गरेको छ।
संघीय यौन तस्करीको आरोप लगाइएपछि सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा न्यूयोर्कको जेलमा एपस्टिनले आत्महत्या गरेका थिए।
वेश्यावृत्तिसम्बन्धी दुई अभियोगमा दोषी स्वीकार गरेपछि उनी फ्लोरिडामा यौन अपराधीको रूपमा दर्ता हुनुपर्ने थियो।
बिहीबार ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई एपस्टाइन प्रकरणमा ‘ग्रान्ड जुरी’को बयानको प्रतिलिपि जारी गर्न आग्रह गरेका थिए।
जर्नलले रिपोर्ट गरेको छ, “ट्रम्पले आफूले लेखेको अस्वीकार गरेको उक्त कथित पत्र सङ्ग्रहका अन्य पत्रहरू जस्तै डरलाग्दो छ। यसमा टाइप गरिएको पाठका थुप्रै पङ्क्तिहरू छन्, जसमा मार्करले कोरिएको नाङ्गो स्त्रीको रूपरेखा समावेश गरिएको छ।”
“भावी राष्ट्रपतिको हस्ताक्षर कम्मरमुनि कोरिएको ‘डोनाल्ड’ हो, जसले यौनाङ्ग वरिपरीका केशको नक्कल गरेको छ,” जर्नलमा लेखिएको छ। “पत्रको अन्तमा भनिएको छ, “जन्मदिनको शुभकामना र हरेक दिन अर्को अद्भूत रहस्य हुन सकोस्।”
ट्रम्पले पत्र लेखेको वा आकृति कोरेको अस्वीकार गर्दै जर्नलसँग भने, “यो म होइन। यो नक्कली कुरा हो।”-रासस/एएफपी
प्रकाशित: ३ श्रावण २०८२, शनिबार