
काठमाडौं ।
टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ, जसअन्तर्गत शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ।
यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको दाबी गरिएको छ।
शार्क ट्यांक नेपालले नेपाली दर्शकहरूलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्रेन्चाइज पहिलो पटक प्रस्तुत गर्दैछ। शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन्।
टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नविद भन्छन्, “शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ। यो सहकार्यले इनोभेसनलाई प्रवर्द्धन गर्ने, व्यवसायिक स्टोरीटेलिङलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्याउने विश्वास हामीले लिएका छौं। टिकटकले पहिलो दिनबाटै यो परिवर्तनकारी प्लेटफर्मको हिस्सा बन्न पाएकोमा हामी गर्व गर्दछौं।”
हाल शार्क ट्यांक नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय छन्, जहाँ उनीहरूले आफ्ना अनुभव, सुझाव र व्यवसायिक दृष्टिकोण सिधै दर्शकमाझ प्रस्तुत गरिरहेका छन्। उनीहरूको सक्रियताले टिकटकमा नेपालभित्र र बाहिर समेत दर्शक र क्रियटरहरूको भाइब्रेन्ट कम्युनिटी निर्माणमा सहयोग पुर्याइरहेको दाबी छ।
शोको आधिकारिक ह्यासट्याग #SharkTankNepal टिकटकमा शोसम्बन्धी सम्पूर्ण सामग्रीहरूको केन्द्र बनेको छ र ट्रेन्डिङ तथा डिस्कभरी सरफेसहरूमा देखा पर्न थालिसकेको छ। केवल १० दिनभित्र, शोको टिकटकमा ४०,००० भन्दा बढी फलोअर्समा पुगेको छ र सिजनभरि बिहाइण्ड द सीन भिडियो क्लिप्स, विशेष अन्तर्वार्ताहरू, मुख्य क्षणहरू, शार्कहरूका प्रतिक्रिया लगायत थुप्रै एक्सक्लुसिभ सामग्रीहरू प्रस्तुत गर्ने लक्ष्य रहेको बताईएको छ।
प्रकाशित: २ श्रावण २०८२, शुक्रबार