चीनसँग सम्बद्ध ह्याकरहरूले टीएसएमसीलक्षित साइबर जासुसी अभियान सञ्चालन गरिरहेको खुलासा

Technology Khabar २ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

चीनसँग सम्बद्ध ह्याकरहरूले ताइवानी सेमिकन्डक्टर उद्योग र लगानी विश्लेषकहरूलाई लक्षित गरी साइबर जासुसी अभियान सञ्चालन गरिरहेका अनुसन्धानकर्ताहरूले बुधबार जनाएका छन्।

साइबर सुरक्षासम्बन्धी कम्पनी प्रूफपोइन्टका अनुसन्धानकर्ताहरूका अनुसार, औद्योगिक डाटा र जानकारी चोर्न गरिने ह्याकिङ नयाँ कुरा होइन, तर हाल केही चीन समर्थित ह्याकिङ समूहहरूबाट निरन्तर ह्याकिङ गतिविधिहरूमा वृद्धि देखिएको छ।

“हामीले पहिले कहिल्यै निशाना नबनेका संस्थाहरू पनि अहिले लक्षित भइरहेको देखेका छौं,” प्रूफपोइन्टका चिनियाँ खतरा विश्लेषक मार्क केलीले भने।

प्रूफपोइन्टका अनुसार, यसअघि रिपोर्ट नगरिएका यी साइबर हमला अभियानहरू कम्तीमा तीन फरक चिनियाँ ह्याकर समूहहरूले यो वर्ष मार्चदेखि जुनसम्म सञ्चालन गरेका थिए, जसको केही गतिविधि अहिले पनि जारी हुनसक्ने अनुमान गरिएको छ।

यी हमला अमेरिकी डिजाइन भएका, तर ताइवानमा उत्पादन गरिने चिपहरूमा वाशिंगटनले लगाएका निर्यात प्रतिबन्धका बीच भएको हो। चीनले विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्समा प्रयोग हुने उन्नत अमेरिकी चिपहरूको आपूर्ति घट्दै गएकाले त्यसको विकल्प विकास गर्न खोजिरहेको छ।

अनुसन्धानकर्ताहरूले लक्षित कम्पनीहरूको नाम खुलाउन मानेनन्, तर रोयटर्सलाई जानकारी दिएअनुसार १५ देखि २० वटा साना व्यवसायहरू, कम्तीमा एउटा अमेरिकी मुख्यालय भएको अन्तर्राष्ट्रिय बैंकमा कार्यरत विश्लेषकहरू, र ठूला बहुराष्ट्रिय कम्पनीहरू समेत आक्रमणको शिकार भएका थिए।

प्रमुख ताइवानी सेमिकन्डक्टर कम्पनीहरूमा टीएसएमसी, मिडियाटेक, यूएमसी, नान्या टेक्नोलोजी र रिलटेक सेमिकण्डक्टर पर्छन्। टीएसएमसीले यसबारे टिप्पणी गर्न मानेन भने अन्य चार कम्पनीहरूले प्रतिक्रिया दिएका छैनन्।

रोयटर्सले यिनीमध्ये विशेष रूपमा कुन कम्पनीहरू ह्याकिङको शिकार भएका हुन् भनेर पहिचान गर्न सकेन, न त ह्याकरहरूले सफलता पाए कि पाएनन् भन्ने कुरा पत्ता लगाउन सक्यो।

वाशिंगटनस्थित चिनियाँ दूतावासका प्रवक्ताले रोयटर्सलाई पठाएको इमेलमा भनेका छन्, “साइबर आक्रमणहरू सबै देशहरूले सामना गरिरहेको साझा खतरा हुन्, जसमा चीन पनि पर्छ। चीनले साइबर आक्रमण र साइबर अपराधको सबै प्रकारको कडाइका साथ विरोध गर्छ र त्यसको विरोधमा लड्छ — यो हाम्रो स्पष्ट र स्थायी नीति हो।”

प्रकाशित: २ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया