‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु

Technology Khabar १ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

आईएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार आजदेखि सुरू भएको छ। आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बिहिबारबाट औपचारिक रूपमा ‘आईएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबार सुरू गरेको घोषणा गरेको हाे।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कार्यक्रममा एकीकृत कारोबार गर्नका लागि कम्पनीलाई लाइसेन्स हस्तान्तरण गरे।

यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै प्रयोगकर्ता संख्या १ करोड २७ लाख पुगेको छ। यसअघि खल्तीमा ७० लाख र आईएमईपे ५७ लाख प्रयोगकर्ता थिए।

ब्याज दिने वालेट रूपमा रहेको आईएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवाहरूका लागि प्रख्यात छ भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्नो नयाँ इनोभेसनका कारण युवा पुस्ता माझ लोकप्रिय छ। अब यी दुवै वालेट मर्ज भएर एक भए पश्चात् आ-आफ्ना उत्कृष्ट फिचरहरूलाई अझै परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा पस्किने अपेक्षा गरिएको छ।

आईएमई पे आईएमई ग्रुप अन्तरगत सञ्चालनमा रही आएको थियो भने ४ जना सह-संस्थापक मिलेर स्थापना भएको खल्ती वालेटमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपहरू जस्ता कर्पोरेटहरू लगानीकर्ताको रूपमा भित्रिएका थिए।

नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा रजिस्टर्ड भएको छ भने एप ‘खल्ती बाई आईएमई’  नामबाट सञ्चालन हुनेछ।

साबिकका आईएमई पेका प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाई आईएमई’ मा माईग्रेट गर्ने सुविधा सार्वजनिक भइसकेको छ जसबाट आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टहरू र सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्तीका प्रयोगकर्ताहरूले भने आफ्नो खल्ती एपलाई अपडेट गरी नयाँ एपको अनुभव गर्न सक्ने बताईएको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, बम बहादुर मिश्रले कार्यक्रममा डिजिटल भुक्तानीले वित्तीय पारदर्शकताको बढोत्तरी हुने भएका कारण हरेक क्षेत्रमा यसको लागु हुन जरुरी भएकोमा जोड दिए।

खल्तीका अध्यक्ष, मनोज कुमार अग्रवालले खल्ती र आईएमई पेको एकता नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम भएको उल्लेख गरे।

आईएमई पेका अध्यक्ष, कृष्ण प्रसाद शर्माले अब खल्तीसँगको एकताबाट बनेको आईएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिने बताए।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता र समावेशीकरणका लागि थप योजनाहरू बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया