Technology Khabar १ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
आफ्ना ग्राहकहरुलाई नगद पुरस्कार दिने ‘सधैं अन करोडपति’ योजना एनसेलले बन्द गरेको छ। कम्पनीले आज साउन १ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै यो योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैबाट लागु हुने गरी बन्द गरेको जनाएको छ।
असार १ गतेबाट सञ्चालनमा ल्याईएको यो योजनामा हरेक हप्ता १० जना ग्राहकले जनही १ लाख पाउँदै आएका थिए भने बम्पर पुरस्कारमा नगद पुरस्कारका रुपमा एक जनालाई रु १ करोड दिने घोषणा गरेको थियो । यो योजना पाँचौ हप्तामा चलिरहेको थियो।
“ग्राहकवर्गहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले सञ्चालन गरेको एनसेल ‘सधैं अन करोडपति’ योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैका मिति २०८२ श्रावण १ (जुलाई १७, २०२५)बाट लागु हुने गरी बन्द गरिएको व्यहोरा सम्पूर्ण ग्राहकवर्गहरुको जानकारीको लागि सादर अनुरोध गर्दछौं । यसबाट ग्राहकवर्गहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं,” उक्त सूचनामा भनिएको छ ।

एक जिम्मेवार संस्थाको रुपमा योजना सञ्चालन रहेको अवधिभित्रमा सहभागीता जनाएका ग्राहकहरुलाई आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै विजेता घोषणा गरी पुरस्कृत गरिने बताएको छ। यसको अर्थ एनसेलले पाँचौ हप्ताको आइतबारदेखि बुधबारसम्मका सहभागी ग्राहकहरु मध्येका १० जनालाई जनही १ लाख नगद पुरस्कार दिने छ र असार १ देखि ३२ गतेसम्म योजना सञ्चालन अवधिभरका ग्राहकहरु मध्येबाट एक भाग्यशाली ग्राहकलाई रु १ करोड नगद पुरस्कार प्रतिबद्धता बमोजिम प्रदान गर्ने जनाएको छ।
प्रकाशित: १ श्रावण २०८२, बिहीबार