Technology Khabar १ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
ओपनएआईकी पूर्व प्रमुख प्राविधिक अधिकृत मीरा मुराटीले स्थापना गरेको एआई स्टार्टअप थिङ्किङ मेशिन्स ल्याबले एन्ड्रीसन होरोविट्जको नेतृत्वमा २ अर्ब डलरको ‘सिड राउन्ड’ पूँजी संकलन गरेको छ। कम्पनीका प्रवक्ताले यसबारे सोमबार जानकारी दिएका हुन्।
यो लगानीमा एनभिडिया, एक्सेल, सर्भिसनाउ, सिस्को, एएमडी र जेन स्ट्रीटको समेत सहभागिता रहेको छ। प्रवक्ताका अनुसार यो सम्झौताले थिङ्किङ मेशिन्स ल्याबको मूल्यांकन १२ अर्ब डलर पुर्याएको छ। जुन अघिल्लो महिनाको रिपोर्टअनुसार अनुमान गरिएको १० अर्ब डलर मूल्यांकनभन्दा उल्लेखनीय रूपमा बढी हो।
टेकक्रञ्चका अनुसार यो सम्झौता सिलिकन भ्यालीको इतिहासमै एउटा ठूलो प्रारम्भिक लगानी अर्थात् सीड राउण्डमध्ये एक बनेको छ। यसले लगानीकर्ताहरू नयाँ र सम्भावनायुक्त एआई प्रयोगशालामा ठूलो उत्साहका साथ लगानी गर्न चाहन्छन् भन्ने देखाउँछ।
थिङ्किङ मेशिन्स ल्याब अझै एक वर्ष पनि नपुगेको कम्पनी हो र उसले हालसम्म आफू केमा काम गरिरहेको हो भन्ने विवरण सार्वजनिक गरेको छैन।
तर मुराटीले मंगलबार एक्समा पोस्ट गर्दै आफ्नो पहिलो उत्पादन केही महिनाभित्र सार्वजनिक गरिने र त्यसमा “महत्वपूर्ण ओपन सोर्स सामग्री” हुने बताएकी छन्। उक्त उत्पादन अनुसन्धानकर्ता र कस्टम एआई मोडल बनाउने स्टार्टअपहरूका लागि उपयोगी हुने उनले उल्लेख गरेकी छन्।
“हामी चाँडै हाम्रो उत्कृष्ट वैज्ञानिक अनुसन्धानसमेत सार्वजनिक गर्नेछौं जसले सीमावर्ती एआई प्रणालीहरू बुझ्न अनुसन्धान समुदायलाई सहयोग पुर्याउनेछ,” मुराटीले लेखेकी छन्।
तर थिङ्किङ मेशिन्स ल्याबले ओपनएआई का प्रतिस्पर्धीहरूले जस्तै खुला एआई मोडल सार्वजनिक गर्ने हो कि होइन भन्ने अहिले स्पष्ट छैन। प्रवक्ताले यसबारे थप टिप्पणी गर्न अस्वीकार गरेका छन्।
मुराटीले कम्पनी सुरु गरेपछि जोन शुलम्यान, ब्यारेट जोफ र ल्युक मेट्जजस्ता ओपनएआईमा काम गरिसकेका केही पूर्व सहकर्मीहरू थिङ्किङ मेशिन्स ल्याबमा आबद्ध भएका छन्। कम्पनीको वेबसाइटका अनुसार हाल उक्त स्टार्टअपले “सुरुदेखि नै सफल एआई उत्पादन बनाउने अनुभव भएका” व्यक्तिहरूको खोजी गरिरहेको छ।
रिपोर्टअनुसार मेटाले थिङ्किङ मेशिन्स ल्याबकिन्नेबारे पछिल्ला महिनाहरूमा कुराकानी गरेको थियो, तर त्यो प्रक्रिया अन्तिम प्रस्तावसम्म पुगेन।
प्रकाशित: १ श्रावण २०८२, बिहीबार