सोनी आरएक्स१आर ३ सार्वजनिक: ६१ मेगापिक्सेल फुल–फ्रेम सेन्सरलगायत यस्ता छन् विशेषताहरु

Technology Khabar १ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

सोनीले आफ्नो आरएक्स१आर सिरिजको तेस्रो क्यामरा आरएक्स१आर आईआईआई घोषणा गरेको छ। यस नयाँ क्यामरामा ६१ मेगापिक्सेल फुल–फ्रेम एक्समोर आर सीएमओएस सेन्सर, नवीनतम बायोञ्ज (BIONZ) एक्सआर ईमेज प्रोसेसर र एउटा फिक्स्ड जाइस सोनार टी८ ३५ मिमी एफ२ लेन्स समावेश गरिएको छ। कम्प्याक्ट क्यामरामा हाई ईमेज क्वालिटी चाहने प्रयोगकर्ताहरूको लागि आरएक्स१आर आईआईआई बनाइएको बताइएको छ। साथै यो नयाँ क्यामरा सडक, यात्रा, वा व्यावसायिक प्रयोगको लागि उपयुक्त हुने उल्लेख गरिएको छ।

नयाँ सेन्सरले लो नोइज (कम आवाज) र वाइड डायनामिक रेञ्ज (फराकिलो गतिशील दायरा) को साथ सार्प, डिटेल्ड ईमेज (विस्तृत तस्बिर) हरू प्रदान गर्दछ। साथै यसमा एन्टी–रिफ्लेक्टिभ कोटिङ्ग रहेको र कुनै पनि अप्टिकल लो–पास फिल्टर नभएको हुनाले यसले क्लियारिटी (स्पष्टता) मा सुधार गर्ने उल्लेख गरिएको छ। लेन्स भने अघिल्लो आरएक्स१ मोडेलहरूमा रहेको उही ३५ एमएम एफ२ युनिट भएको बताइएको छ जसले परिचित कलर र टोन प्रदान गर्दछ। क्यामराको सानो बडि (शरीर) मा उच्च प्रदर्शन सुनिश्चित गर्न लेन्स र सेन्सर उच्च परिशुद्धतासँग पङ्क्तिबद्ध गरिएका छन्।

त्यसैगरी अटोफोकसले विषयहरूलाई सही रूपमा पत्ता लगाउन र ट्र्याक गर्नको लागि एआई प्रोसेसिङ युनिट प्रयोग गर्दछ। यसले अनुहार नदेखिए पनि आँखा, अनुहार, टाउको र शरीर पहिचान गर्दछ। साथै क्यामरामा सेन्सर एरियाको ७८ प्रतिशत भाग ओगटेको ६९३ फेज–डिटेक्सन एएफ पोइन्टहरू रहेका छन्। यसले फोटो र भिडियो दुवैको लागि काम गर्ने उल्लेख गरिएको छ।

आरएक्स१आर आईआईआई मा स्टेप क्रप सुटिङ फङ्गसन पनि समावेश छ। यसले प्रयोगकर्ताहरूलाई बटन वा डायलहरू प्रयोग गरेर ३५ एमएम, ५० एमएम र ७० एमएम फोकल लेन्थहरू बीच स्विच गर्न दिनेछ। यदि RAW मा सुटिङ गरिएको छ भने, इडिटिङ (सम्पादन) को क्रममा फोकल लेन्थलाई पछि परिवर्तन गर्न सकिनेछ। साथै लेन्समा रहेको म्याक्रो रिङले ०.२६x म्याग्निफिकेसनको साथ २० सेन्टिमिटरसम्म नजिक फोकस गर्न अनुमति दिनेछ।

क्यामरामा बिल्ट इनको रुपमा बाह्र क्रिएटिभ लुक प्रोफाइलहरूमा दुई नयाँ एफएल२ र एफएल३ थप समावेश गरिएका छन्। एफएल२ ले सफ्ट कलर्स (नरम रंगहरू) को साथ पुरानो लुक दिन्छ भने एफएल३ ले थप जीवन्त तस्बिरहरू उत्पादन गर्दछ। यी तस्बिरहरू र भिडियो दुवैको लागि प्रयोग गर्न सकिने बताइएको छ।

म्याग्नेसियम अलोयबाट बनेको क्यामरा बडीमा नयाँ रबराइज्ड ग्रिप रहेको छ। कन्ट्रोल्स र हट सु टप प्लेटसँग फ्लश गरिएका छन्। यसमा ०.७०x म्याग्निफिकेसनको साथ २.३६ मिलियन–डट ओएलईडी भ्यूफाइन्डर समावेश गरिएको छ। एनपी–एफडब्ल्यू५० ब्याट्रीले प्रति चार्ज ३०० शटहरू समर्थन गर्दछ। यूएसबी–सी पोर्टले एक्सटर्नल पावर स्रोतहरूसँग छिटो चार्ज गर्न र प्रयोग गर्न अनुमति दिने बताइएको छ।

सोनीले आरएक्स१आर आईआईआई १०० प्रतिशत रिन्युएबल इनर्जी (नवीकरणीय ऊर्जा) प्रयोग गरेर उत्पादन गरिएको र पर्यावरण–मैत्री प्याकेजिङमा आउने बताएको छ। एक्सेसिबिलिटी फिचर्स (सुविधाहरू) मा स्क्रिन रिडर सपोर्ट र डिस्प्ले म्याग्निफिकेसन समावेश रहेका छन्।

आरएक्स१आर आईआईआई सन् २०२५ को जुलाईमा उपलब्ध हुने र यसको मूल्य लगभग ४,९०० यूरो वा ४,२०० पाउन्ड हुने बताइएको छ। त्यसैगरी क्यामराको वैकल्पिक एक्सेसरिज (सामानहरू) सेप्टेम्बरमा उपलब्ध हुने उल्लेख गरिएको छ। एक्सेसरिजमा २८० युरो मूल्यको टीजी–२ थम्ब ग्रिप, १८० युरो मूल्यको एलसीएस–आरएक्सएल बडी केस र एलएचपी–१ लेन्स हुड समावेश रहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया