Technology Khabar ३२ असार २०८२, बुधबार
काठमाडौं ।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले ‘आईपीभी६ माइग्रेशन विनियम २०८२’ को परामर्श पत्र जारी गरेको छ। सम्बन्धित सरोकारवाला पक्ष, विज्ञहरू, अनुसन्धानकर्ता तथा इच्छुक पक्षहरूलाई ३० दिनभित्र लिखित वा विद्युतीय रूपमा यस परामर्श दस्तावेजमा उठाइएका विभिन्न विषयहरूमा सुझाव, प्रतिक्रिया वा धारणा पेश गर्न प्राधिकरणको आग्रह रहेको छ।
इन्टरनेट प्रोटोकल (आईपी) भनेको नेटवर्कमार्फत डाटा पठाउन र ठेगाना तोक्न प्रयोग गरिने नियमहरूको समूह हो। यो प्रोटोकलले डाटाका प्याकेटहरूलाई उचित गन्तव्यसम्म पुर्याउन मार्गनिर्देशन र ठेगाना व्यवस्थापन गर्छ। इन्टरनेटसँग जडिएको प्रत्येक उपकरण वा डोमेनलाई एउटा आईपी ठेगाना दिइएको हुन्छ, र डाटा सोही आईपी ठेगानामा निर्देशित गरिएकाले आवश्यक ठाउँमा पुग्छ।
परामर्श पत्रमा उल्लेख भए अनुसार हाल इन्टरनेटमा प्रयोगमा रहेका आईपीका दुई संस्करण छन्: आईपी भी४ र आईपीभी६। आईपीभी४ ले ३२-बिट ठेगाना प्रयोग गर्छ जसले २^३२ (४.१९ अर्ब) ठेगाना राख्न सक्ने क्षमता राख्दछ।
इन्टरनेटमा जडिने प्रयोगकर्ताहरूको संख्या बढेसँगै आईपीभी४ ठेगाना सकिँदै गएको छ। यही कारणले थप इन्टरनेट ठेगानाको आवश्यकतालाई पूरा गर्न आईपीभी६ नामक नयाँ ठेगाना प्रणाली लागू गरिएको हो।
नेपालमा परम्परागत रूपमा इन्टरनेट आईपीभी४ मा आधारित रहँदै आएको छ। केही प्रमुख इन्टरनेट सेवा प्रदायकहरूले आईपीभी६ मा आधारित सेवा उपलब्ध गराउँदै आएका छन्। इन्टरनेट प्रयोग गर्ने नयाँ उपकरणहरू प्रायः सबै आईपीभी६ सक्षम छन्, तर पनि आईपीभी६ अपेक्षाअनुसार व्यापक रूपमा विस्तार भएको छैन। सुरक्षाको दृष्टिकोण, विस्तारयोग्यता र जडान क्षमताका कारण आईपीभी६ लाई आईपीभी४ भन्दा प्राथमिकता दिइन्छ।
नेपालमा फाइभजी र इन्टरनेट अफ थिङ्स (आईओटी) बजारको अनुकूल वातावरण निर्माण गर्न आईपीभी६ मा आधारित इन्टरनेट नेटवर्क आवश्यक रहेको छ। नेपालका टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूलाई आईपीभी६ मा रूपान्तरण गर्न प्रेरित गर्न र प्रोत्साहन दिन नेपाल दूरसञ्चार प्राधिकरणले आईपीभी६ माइग्रेसनसम्बन्धी कार्यविधि निर्माण गर्ने योजना बनाएको हो।
प्राप्त सुझाव र अभिमतहरूले नयाँ कार्यविधि निर्माण गर्न प्राधिकरणलाई सहयोग गर्नेछ। परामर्श दस्तावेज प्राधिकरणको वेबसाइट (www.nta.gov.np) मा उपलब्ध हुने बताइएको छ।
प्रकाशित: ३२ असार २०८२, बुधबार