टीएसएमसीले दोस्रो त्रैमासिकमा कीर्तिमानी ५२ प्रतिशत नाफा वृद्धि गर्ने अनुमान, ट्रम्पको करलगायत बाधक

Technology Khabar ३२ असार २०८२, बुधबार

काठमाडौं ।

विश्वकै प्रमुख उच्च प्रविधियुक्त एआई चिप उत्पादक टीएसएमसीले दोस्रो त्रैमासिकमा ५२ प्रतिशत नाफा वृद्धि गर्ने अनुमान गरिएको छ, जुन कम्पनीको हालसम्मकै उच्च लाभ हुने सम्भावना छ। तर अमेरिकी कर र बलियो ताइवान डलरले प्रक्षेपणमा असर पार्न सक्ने बताइएको छ।

अनुसन्धान संस्था आईडीसीका समूह उपाध्यक्ष मारियो मोरालेसका अनुसार, कृत्रिम बुद्धिमत्तासम्बन्धी माग तीव्र रूपमा बढिरहेको छ। फाउन्ड्री उद्योगको आम्दानी यस वर्ष १७ देखि १८ प्रतिशतले बढ्ने अनुमान गरिए पनि, बजारमा नेतृत्व गरिरहेको टीएसएमसी को बिक्री झण्डै ३० प्रतिशतसम्म बढ्न सक्नेछ।

एनभिडिया र एप्पलका प्रमुख आपूर्तिकर्ता तथा विश्वकै ठूलो अनुबन्धित चिप निर्माता कम्पनी टीएसएमसीले जुन ३० सम्मको तीन महिनामा ३७७.४ अर्ब ताइवान डलर (१२.९ अर्ब अमेरिकी डलर) नाफा कमाउने अनुमान गरिएको छ। यो अनुमान एलएसईजीको स्मार्टएस्टिमेटमा आधारित छ, जसमा २१ जना विश्लेषकको मूल्याङ्कन समावेश रहेको रोयटर्सले उल्लेख गरेको छ।

स्मार्टएस्टिमेटले लगातार सही अनुमान गर्ने विश्लेषकको पूर्वानुमानलाई बढी महत्व दिन्छ। टीएसएमसीले दोस्रो त्रैमासिकमा ३८.६ प्रतिशत राजस्व वृद्धि भइसकेको जानकारी दिइसकेको छ। यदि कम्पनीको नाफा ३७४.६८ अर्ब ताइवान डलरभन्दा माथि रह्यो भने, त्यो हालसम्मकै सबैभन्दा ठूलो त्रैमासिक नाफा हुनेछ र यो कम्पनीको लगातार छैटौं त्रैमासिक नाफा वृद्धि पनि हुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करले टीएसएमसीमा कति असर पार्नेछ भन्ने कुरा अझै स्पष्ट छैन। ताइवानलाई अप्रिलमा ३२ प्रतिशत समानुपातिक ट्यारिफ लाग्ने चेतावनी दिइएको थियो, तर अन्य देशले नयाँ दर पाइसके पनि ताइवानले अझै प्राप्त गरेको छैन। ट्रम्पले यो महिनामै सेमिकण्डक्टरहरूमा चाँडै कर लाग्ने बताएका थिए।

कम्पनीले जुनमा करको केही अप्रत्यक्ष असर परेको बताएको थियो, जसले मूल्यमा सामान्य वृद्धि गराउँछ र त्यसले मागमा असर पार्न सक्छ। मार्चमा कम्पनीले राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा १०० अर्ब डलरको लगानी घोषणा गरेको थियो, जुन पहिले घोषणा गरिएको एरिजोनामा रहेका तीन कारखानाहरूका लागि छुट्याइएको ६५ अर्ब डलरमा थप हो।

अर्को प्रमुख विषय भनेको ताइवान डलरको मूल्य अमेरिकी डलरको तुलनामा यस वर्ष अहिलेसम्म १२ प्रतिशतसम्म बढ्नु हो। “विनिमय दर ठूलो चिन्ताको विषय हो, किनभने टीएसएमसीको धेरैजसो आम्दानी अमेरिकी डलरमा हुन्छ,” एशियाली निजी लगानी संस्था ट्राइओरियन्टका उपाध्यक्ष ड्यान नाइस्टेडले भने।

ताइवान डलर १ प्रतिशतले मूल्यवान हुँदा कम्पनीको ग्रस मर्जिन ०.४ प्रतिशत बिन्दुले घट्ने टीएसएमसीले बताएको छ। कम्पनीका अनुसार, ताइवान डलरको मूल्यवृद्धिले जुनमा ग्रस मर्जिनबाट ३ प्रतिशत बिन्दुभन्दा बढी कटौती भएको ।

कम्पनीले बिहीबार नतिजा सार्वजनिक गर्नेछ र त्यसपछि बिहान ६ बजे जीएमटीमा हुने अर्निङ कलमा तेस्रो त्रैमासिकको प्रक्षेपणसमेत दिने रोयटर्सले उल्लेख गरेको छ। टीएसएमसीको सेयर मूल्य गत वर्ष झण्डै ८० प्रतिशतले उकालो लागेको थियो, तर यो वर्ष अहिलेसम्म ट्यारिफ र विनिमय दरका चिन्ताले मात्र ३.७ प्रतिशतले बढेको छ।

प्रकाशित: ३२ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया