Technology Khabar ३१ असार २०८२, मंगलवार
काठमाडौं ।
चितवनमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा दिनेमध्ये ६५ प्रतिशत फेल भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय चितवनका अनुसार लाइसेन्स परीक्षा सुरु भएपछि एक लाख १२ हजार २०७ जनाले निवेदन दिएकोमा ३० हजार ६७८ जना उत्तीर्ण भएका छन्।
विसं २०५० वैशाख ३ गतेबाट चितवनमा लाइसेन्स परीक्षा लिन थालिएको थियो। त्यसयता यहाँको उत्तीर्ण दर ३२ प्रतिशत रहेको यातायात व्यवस्था कार्यालय चितवनका अधिकृत तेजेन्द्र अधिकारीले जानकारी दिए।
उनका अनुसार अधिकांशले तयारी नगरी परीक्षा दिन आउँदा उत्तीर्ण दर कम रहेको हो। यातायात व्यवस्था कार्यालयले महालक्ष्मी ट्रायल सेन्टरबाट ट्रायल परीक्षा लिँदै आएको छ। यहाँ परीक्षा दिएकामध्ये १५ हजार ३२७ जनाले मोटरसाइकलको लाइसेन्स लिएका छन् । यसको लाइसेन्सका लागि ५५ हजार ५२४ जनाले परीक्षा दिएका थिए। छ हजार ५३६ जनाले कार र जिपका लाइसेन्स लिएको अधिकारीले बताए।
कार र जिपका लागि २६ हजार पाँच जनाले निवेदन दिएका थिए। यस्तै स्कुटर/ र/मोपडको लाइसेन्स १० हजार ५३६ जनाले लिएका छन्। यसका लागि ३० हजार ९० जनाले निवेदन दिएको यातायात व्यवस्था कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ।
यस्तै यो अवधिमा यहाँबाट ३५ हजार ६५४ जनाले लाइसेन्सको नवीकरण गरेका छन् । पछिल्लो महिनामा लाइसेन्स परीक्षा दिनेको सङ्ख्या घट्दै गएको अधिकारीले बताए।
“सुरुवाती चरणमा जस्तो लाइसेन्स परीक्षा दिने मानिसको सङ्ख्या छैन,” अधिकारीले भने, “यसको कारण पत्ता लगाउन सकिएको छैन, अनुसन्धानका क्रममा नै छ।”
यहाँबाट चितवन, नवलपरासीपूर्व, तनहुँ, गोरखा, धादिङ, मकवानपुर, लमजुङ, बागलुङलगायतका जिल्लाबाट समेत आएर लाइसेन्स परीक्षा दिने गरेको उनले बताए।
यस कार्यालयबाट ११ महिनाको अवधिमा २१ हजार ६०५ वटा सवारीसाधन दर्ता भएका छन्। त्यसमध्ये ५४ वटा सवारी सरकारी रहेका यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिए।
सबैभन्दा बढी सवारी दर्ता हुनेमा मोटरसाइकल रहेका छन्। ४० वटा सरकारीसहित १९ हजार ४९६ वटा मोटरसाइकल, स्कुटर र मोपेड दर्ता भएका छन् । कार, जिप, भ्यान र पिकअप ७३४, बस र ट्रक ३६७, अटो र ट्याम्पो ९७२ र ट्याक्टर ३६ वटा दर्ता भएको पौडेलले जानकारी दिए।
कार्यालयले चालु आर्थिक वर्षको असार २५ गतेसम्म ९४ करोड छ लाख ३६ हजार ३६९ रुपियाँ राजस्व सङ्कलन गरेको छ। सबैभन्दा बढी सवारीसाधन करमा ६६ करोड ३७ लाख १० हजार २६६, चालक अनुमतिपत्र, सवारी दर्ताबाट २२ करोड ९० लाख ४५ हजार, यातायात क्षेत्रको आम्दानी चार करोड ६० लाख ९३ हजार ७७८, प्रशासनिक दण्ड जरिबाना र जफतबाट एक करोड ५७ लाख दुई हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट एक लाख दुई हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: ३१ असार २०८२, मंगलवार