Technology Khabar ३१ असार २०८२, मंगलवार
काठमाडौं ।
ट्विटरका सह-संस्थापक ज्याक डोर्सी एप बनाउने होडमै लागेका छन्। यस महिनाको सुरुमा ब्लुटुथ-आधारित सन्देश पठाउने एप ‘बिटच्याट’ सार्वजनिक गरेपछि उनले यो सप्ताहान्तमा सन डे नामक नयाँ एप सार्वजनिक गरेका छन्, जसले प्रयोगकर्ताहरूलाई पराबैजनी (युभी) किरणको सम्पर्क र भिटामिन डी को मात्रा ट्र्याक गर्न सहयोग गर्छ।
यो एप अहिले आईओएसको टेस्टफ्लाइट मार्फत उपलब्ध छ, र यसको सोर्स कोड गिटहबमा सार्वजनिक गरिएको छ, जसलाई कुनै पनि इच्छुक व्यक्तिले क्लोन गरेर प्रयोग गर्न सक्छ।
टेकक्रञ्चका अनुसार अन्य डेभलपरहरू जस्तै डोर्सी पनि भाइब कोडिङ ट्रेन्डमा देखिएका छन्। तर कर्सर, क्लाउड कोड वा विण्डसर्फजस्ता एआई टुलहरू प्रयोग गर्नुको सट्टा उनी गूज नामक खुला स्रोत कोडिङ टुल प्रयोग गरिरहेका छन्।
सन डे प्रयोग गर्न सजिलो एप हो। यो एपले तपाईंको स्थानको यूभी इन्डेक्स देखाउँछ, साथै बादलको मात्रा, सूर्योदय र सूर्यास्तको समय पनि जानकारी दिन्छ। तपाईं आफ्नो छालाको प्रकार (६ ओटा विकल्पहरू) र लगाएको कपडाको प्रकार छान्न सक्नुहुन्छ। यी आधारमा एपले तपाईंको छाला घाममा कति समय राख्दा जल्न थाल्छ भन्ने गणना गर्छ।
एपले तपाईंको न्यूनतम भिटामिन डी आवश्यकताको जानकारी पनि देखाउँछ। “ट्र्याक यूभी एक्सपोजर” बटन ट्याप गरेर सत्र सुरु गर्न सकिन्छ। सत्र समाप्त भएपछि, तपाईंले त्यो सत्रमा कति भिटामिन डी प्राप्त गर्नुभयो भन्ने देखाउँछ — साथै दिनभरिमा कति प्राप्त गरियो भन्ने तथ्याङ्क पनि उपलब्ध गराउँछ।
प्रकाशित: ३१ असार २०८२, मंगलवार