Technology Khabar ३१ असार २०८२, मंगलवार
काठमाडौं ।
मंगल ग्रहमा फेला परेका बाक्ला र खनिजले भरिएका माटो अर्थात् क्लेका तहहरूले प्राचीन समयमा त्यहाँ जीवनका लागि अनुकूल वातावरण लामो समयसम्म रहेको संकेत दिने नयाँ अध्ययनले सुझाव दिएको छ।
क्ले बन्नका लागि तरल पानी आवश्यक पर्छ। यी तहहरू सयौँ फिट बाक्ला छन् र लगभग ३.७ अर्ब वर्षअघि बनेका मानिन्छन्, जतिखेर मंगल अहिलेको तुलनामा धेरै न्यानो र भिजेको थियो।
“यी क्षेत्रमा धेरै पानी थियो, तर भौगोलिक रूपमा धेरै उत्थान थिएन, जसले गर्दा ती ठाउँहरू निकै स्थिर थिए,” अध्ययनकी सहलेखक रिहाना मुरले बताइन्। उनले यो अनुसन्धान टेक्सास विश्वविद्यालयको ज्याक्सन स्कूल अफ जिओसाइन्सेजमा पोस्टडक्टरल अनुसन्धानकर्ताका रूपमा गरेकी हुन्।
“यदि तपाईं सन्तुलित भू–परिवेशमा हुनुहुन्छ भने, सम्भावित जीवनयोग्य वातावरणलाई बिघ्न नपुर्याई लामो समयसम्म अनुकूल अवस्था कायम रहन सक्छ,” मुरले थप भनिन्।
पृथ्वीमा यस्ता बाक्ला माटोका तहहरू विशेष भू–परिदृश्य र मौसमी अवस्थामा बनिन्छन्। सहलेखक टिम गौड्जका अनुसार, “पृथ्वीमा हामी जहाँ धेरै बाक्लो क्ले तहहरू देख्छौँ, ती प्रायः चिस्यानयुक्त क्षेत्रहरू हुन्, जहाँ नयाँ बन्ने पदार्थहरूलाई बगाएर लैजाने प्रकारको भौतिक क्षय कम हुन्छ।”
यद्यपि मंगलको स्थानीय र विश्वव्यापी भू–आकार र विगतको जलवायु गतिविधिले सतहमा भएको क्षय र माटोको तह कसरी बने भन्ने विषय अझै प्रष्ट छैन।
लाइभसाइन्सका अनुसार नासाको मार्स रिकनेसाँ अर्बिटरबाट प्राप्त डाटा र तस्बिरहरू प्रयोग गर्दै मुर, गौड्ज र उनका सहकर्मीहरूले १५० वटा क्ले जमिनहरू अध्ययन गरे। तिनको आकार, स्थान, र ती प्राचीन ताल वा नदीजस्ता विशेषतासँगको दूरी विश्लेषण गरे।
यी माटो मुख्य रूपमा प्राचीन तालहरू नजिकका होचो भूभागहरूमा पाइने अध्ययनले देखाएको छ तर जहाँ पानीले बलपूर्वक बग्ने खोँच थिए, ती क्षेत्र नजिक भने छैनन्। रासायनिक परिवर्तन सानो भएको र भौतिक क्षय कम भएको यो मिश्रणले यी माटोलाई लामो समयसम्म सुरक्षित राखेको देखिन्छ।
“क्ले खनिज भएका तहहरू सामान्यतया त्यस्ता ठाउँहरूमा देखिन्छन्, जहाँ रासायनिक अपक्षय भौतिक क्षयभन्दा बढी क्रियाशील थियो, खोँचहरूको प्रभावभन्दा टाढा र स्थिर पानी भएको ठाउँ नजिक,” अध्ययनले लेखेको छ। यो अध्ययन जुन १६ मा ‘नेचर एस्ट्रोनोमी’ पत्रिकामा प्रकाशित भएको हो।
पृथ्वीमा टेक्टोनिक क्रियाकलापले नयाँ चट्टानलाई वायुमण्डलमा उजागर गरिरहन्छ, जसले पानी र कार्बन डाइअक्साइडसँग प्रतिक्रिया गरेर कार्बोनेट खनिजहरू बनाउँछ। यस प्रक्रियाले वातावरणबाट डाइअक्साइड हटाएर वातावरणीय सन्तुलन कायम गर्न सहयोग गर्छ।
तर मंगलमा टेक्टोनिक क्रियाकलाप छैन, जसले गर्दा कार्बोनेट खनिजहरू कम पाइन्छन् र वातावरणबाट डाइअक्साइड हटाउने प्रक्रिया न्यून छ। नतिजा स्वरूप, विगतमा ज्वालामुखी विस्फोटबाट निस्केको डाइअक्साइड वातावरणमै लामो समय रह्यो, जसले ग्रहलाई न्यानो र भिजेको बनायो यिनै अवस्थाहरूले क्ले बन्न सघाएको अनुसन्धानकर्ताहरूको भनाइ छ।
उनीहरूको थप अनुमान अनुसार यी माटोहरूले पानी सोस्ने र क्याटायनजस्ता रासायनिक पदार्थहरू थुनिरहेका हुनसक्छन् जसले ती पदार्थलाई वरपरको चट्टानसँग प्रतिक्रिया गरेर कार्बोनेट बन्नबाट रोकेको हुन सक्छ।
“[क्ले] शायद त्यस्ता धेरै कारकहरूमध्ये एक हो, जसका कारण मंगलमा अपेक्षित कार्बोनेटहरूको अभाव देखिन्छ,” मुरले बताइन्।
प्रकाशित: ३१ असार २०८२, मंगलवार