इजरायलको ‘ड्रोर–१’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | ३० असार २०८२, सोमबार
इजरायलको ‘ड्रोर–१’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

इजरायलले आइतबार बिहान आफ्नो नयाँ राष्ट्रिय सञ्चार उपग्रह ‘ड्रोर–१’ सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। ड्रोर–१ इजरायलको अत्याधुनिक राष्ट्रिय सञ्चार उपग्रह हो, जसलाई इजरायल एरोस्पेस इन्डस्ट्रीज (आइएआइ) ले निर्माण गरेको हो।

यो उपग्रह इजरायलमै निर्माण गरिएका सबैभन्दा उन्नत प्रविधि भएका सञ्चार उपग्रहहरूमध्ये एक मानिन्छ। यसको मुख्य उद्देश्य इजरायलको सैन्य तथा नागरिक सञ्चार प्रणालीलाई सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउनु हो। यस उपग्रहको सञ्चालन अवधि करिब १५ वर्षको हुनेछ। यसले इजरायलको रणनीतिक आवश्यकता र नागरिक स्तरको सञ्चार सेवा दुवैमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

उक्त उपग्रहलाई संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यस्थित प्रक्षेपण केन्द्रबाट इजरायलको अन्तरिक्ष प्रविधि संस्थाले पठाएको हो। बिहान १ बजेर ४ मिनेट जाँदा सो प्रक्षेपण सम्पन्न भएको जानकारी दिइएको छ।

इजरायली विदेश मन्त्रालयले जानकारी दिँदै भनेको छ, “झन्डै २० अर्ब रुपैयाँ बराबरको लागतमा तयार गरिएको यो ‘अन्तरिक्षको मोबाइल जस्तो’ प्रविधि भएको उपग्रहले आगामी १५ वर्षसम्म देशको रक्षा र नागरिक सञ्चार क्षेत्रमा योगदान पुर्याउनेछ।”

इजरायलको विमान तथा अन्तरिक्ष प्रविधि संस्थाका अनुसार यो उपग्रह हालसम्म इजरायलमै निर्माण गरिएको सबैभन्दा आधुनिक तथा शक्तिशाली सञ्चार यन्त्र हो। संस्थाले यस उपलब्धिलाई ‘इजरायली अन्तरिक्ष प्रविधिको ऐतिहासिक फड्को’ को रूपमा चित्रण गरेको छ।

यसअघि सन् २०१६ मा परीक्षणका क्रममा यस्तै प्रकारको प्रक्षेपण विस्फोट भई ‘अमोस–६’ नामक उपग्रह नष्ट भएको थियो। उक्त उपग्रहको लागत करिब २५ देखि ३५ अर्ब रुपैयाँको हाराहारीमा अनुमान गरिएको थियो।-रासस/एएफपी

प्रकाशित: ३० असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार