Technology Khabar २९ असार २०८२, आईतवार
काठमाडौं ।
काठमाडौं महानगरलाई प्रविधिमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गरिने भएको छ। आज महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेयर बालेन शाहले यस्तो घोषणा गरेका हुन्।
‘समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, सांस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकास सुनिश्चित गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रम सम्मानित नगरसभा गर्न चाहन्छ’, उनले भने।
मेयर शाहका अनुसार स्थानीय स्वायत्तता, न्याय र सुशासन सुदृढीकरणका लागि स्थानीय सतर्कता एकाई गठन, ई-कोटेसन प्रणालीको सञ्चालन, सर्भिस रेटिङ सिस्टम सञ्चालन साथै समयमै सेवा दिनुपर्छ भन्ने कानुनी बाध्यतालाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक कार्यक्रमहरु ल्याइनेछ।
यसैगरी इन्क्युबेशन सेन्टर, समवेशिता लक्षित उद्यमशिलता अनुदान/बिउ पूँजी कार्यक्रम, सहकारी सुधार योजना जस्ता कार्यक्रमहरुलाई थप परिस्कृत गर्दै निरन्तरता दिइनेछ।
सामुदायिक विद्यालयमा “स्पोर्टस् एकेडेमी”, डिजिटल कक्षा, स्टेम शिक्षा र उद्यमशीलता क्लब स्थापनाका साथै अपाङ्गता, अटिज्म र फरक क्षमता भएका विद्यार्थीहरुका लागि विशेष शिक्षण केन्द्र र पहुँच अनुकूल पूर्वाधार निर्माण गरी समग्र शैक्षिक सुधारका लागि कार्यक्रमहरु ल्याइनेछ।
दिगो, समावेशी र प्रविधिमैत्री सहरी पूर्वाधार निर्माणका लागि डिजिटल नक्सांकन, सेवा बिन्दुहरुको लागि आफ्नै पूर्वाधार, स्मार्ट सडक तथा ट्राफिक प्रणाली, खुला चोक र पैदलमैत्री क्षेत्र विकास, भूमिगत तथा एकीकृत सञ्चार प्रणाली विस्तार, स्मार्ट स्ट्रीट लाइट जडान, साना सहरी पार्क निर्माण, नविनतम निर्माण प्रविधिको प्रयोग, एकद्वार निर्माण अनुमति प्रणाली र सामुदायिक सहभागितामा आधारित योजना तर्जुमा तथा कार्यान्वयन गरी सुरक्षित र व्यवस्थित काठमाडौं निर्माणमा जोड दिइनेछ।
महानगरले आजै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोडको बजेटसमेत प्रस्तुत गरेको छ।
प्रकाशित: २९ असार २०८२, आईतवार