सहरी विकास मन्त्रालयले अब एक्सन रुमबाट टेलिप्रिजेन्ट मार्फत् अनुगमन गर्ने

Technology Khabar २९ असार २०८२, आईतवार

काठमाडौं ।

सहरी विकास मन्त्रालयमातहतका निकायबाट सञ्चालित आयोजनाको अनुगमन अब मन्त्रालयको ‘एक्सन रुम बाट हुने भएको छ।

आयोजनाको अनुगमनका लागि मन्त्रालयमा – एक्सन रूम निर्माण गर्ने तयारी भइरहेको छ। आयोजनाको निर्माणमा हुने गरेका ढिलासुस्ती र गुणस्तरीयताबारे उठ्दै आएको प्रश्नको समाधानका लागि सिंहदरबारस्थित मन्त्रालयबाट नै अनुगमन गर्न र सम्बन्धित आयोजनाका प्रमुखसँग संवाद गर्न ‘एक्सन रुम निर्माण गर्ने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले मन्त्रालयमातहत निर्माणाधीन आयोजनाको दैनिक अनुगमन (डेली मनिटरिङ) गर्ने प्रयोजनका लागि मन्त्रालयमा आगामी आर्थिक वर्ष (२०६२/६३) को साउन १ गतेदेखि एक्सन रुम सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताउनुभयो।

प्रवक्ता मैनालीका अनुसार ‘एक्सन रुम’ मा बन्ने ‘टेलिप्रिजेन्ट’ प्रणालीमार्फत मन्त्रालयबाट सात वटै प्रदेशमा निर्माणाधीन आयोजनाको प्रत्यक्ष अनुगमन गर्नुका साथै आयोजनाका प्रमुखसँग प्रत्यक्ष संवादसमेत गर्न सकिने छ । ‘एक्सन रुम मा टेलिभिजन, टेलिप्रिजेन्ट क्यामेरा र माइक (स्पिकर) जडान गरिने छ।

‘टेलिप्रिजेन्ट’ का माध्यमबाट मन्त्री वा सचिवले आयोजना प्रमुखसँग प्रत्यक्ष संवाद र बैठक गरेपछि आवश्यक कामबाहेक आयोजनाका प्रमुख मन्त्री वा सचिव भेट्न काठमाडौँ आउनुपर्दैन।

यसरी दैनिक अवलोकन र संवाद हुने भएपछि काममा गुणस्तरीयता कायम हुनुका साथै तीव्रता प्रदान हुने विश्वास गरिएको उनले बताए।
‘एक्सन रुम बाट आयोजना स्थलमा जडान गरिएको क्यामराको सहयोगले कुन आयोजनाको के कस्तो प्रगति भइरहेको छ भन्ने जानकारी लिन सकिने छ ।

आजको गोरखापत्रबाट

प्रकाशित: २९ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया