गुगलले अमेरिकाको संघीय सरकारका लागि क्लाउड कम्प्युटिङ सेवामा भारी छुट दिने

Technology Khabar २८ असार २०८२, शनिबार

काठमाडौं ।

गुगलले अमेरिकाको संघीय सरकारका लागि क्लाउड कम्प्युटिङ सेवामा भारी छुट दिने भएको छ। फाइनान्सियल टाइम्सले शुक्रबार दिएको जानकारी अनुसार यो सम्झौता केही हप्ताभित्र अन्तिम हुन सक्नेछ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय खर्च न्यून गर्ने उपायस्वरूप अघि सारेका प्रयासहरूसँग मेल खान्छ।

रोयटर्सका अनुसार गत हप्ता वाल स्ट्रिट जर्नलले ओरेकलले अमेरिकी संघीय निकायहरूलाई आफ्नो लाइसेन्स आधारित सफ्टवेयरमा ७५ प्रतिशत छुट र नोभेम्बरको अन्त्यसम्म क्लाउड सेवामा “ठूलो” छुट दिने जनाएको थियो।

फाइनान्सियल टाइम्सले जनाएअनुसार गुगलको क्लाउड सम्झौता पनि त्यही स्तरको छुटमा टुंगिने सम्भावना छ । जनरल सर्भिसेस एडमिनिस्ट्रेसनका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचारमा माइक्रोसफ्टको अज्युर र अमेजन वेब सर्भिसेजबाट पनि यस्तै छुटहरू चाँडै अपेक्षा गरिएको उल्लेख छ।

“यी सबै कम्पनीहरू पूर्ण रूपमा प्रतिबद्ध छन्, उनीहरूलाई हाम्रो लक्ष्य प्रस्ट थाहा छ,” ती वरिष्ठ अधिकारीले अखबारसँग भनेका छन्, “हामी चारै कम्पनीसँग त्यही स्थानमा पुग्नेछौं।”

अप्रिलमा गुगलले अमेरिकी संघीय निकायहरूलाई आफ्नो व्यवसायिक एप्स प्याकेजमा सेप्टेम्बर ३० सम्मका लागि ७१ प्रतिशत छुट दिने सहमति गरेको थियो । यो छुट सरकारले पूर्णरूपमा अपनाएमा करिब २ अर्ब डलरको खर्च बचत हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २८ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया