जेनेस सलुशन बन्यो नेपालकै पहिलो एडब्लुएस ‘प्रिमियर टिएर सर्भिसेज पार्टनर’

Technology Khabar २८ असार २०८२, शनिबार

काठमाडौं ।

डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ।

विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लुएस साझेदारहरुमध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेर जेनेस सलुशन यो प्रतिष्ठित उपाधि प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको बताइएको छ।

‘जेनेस सलुशनको यो उपलब्धिले प्राविधिक नवप्रवर्तन, उच्चस्तरीय सेवा वितरण र ग्राहक सफलताप्रति यसको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्छ’, कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जेनेस सलुशनले विश्वभरका संस्थाहरूलाई एडब्लुएसमा आधारित समाधानहरू डिजाइन गर्न, माइग्रेसन गर्न र व्यवस्थापन गर्न मद्दत पुर्‍याउँदै आएको छ।”

जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने, “एडब्लुएसको प्रिमियर टिएर सर्भिसेज पार्टनर स्टाटस हासिल गर्ने नेपालको पहिलो कम्पनी बन्नु हाम्रो कम्पनीका लागि मात्र होइन, देशका लागि पनि गौरवको क्षण हो। हामी अब डिजिटल रूपान्तरणको यात्रामा सहायक मात्र होइन, नेतृत्वदायी भूमिकामा छौं, नवप्रवर्तनको अगुवाइ गर्दैछौं र विश्वव्यापी मञ्चमा चिनिँदैछौं। ”

“जेनेस सलुशनमा नवप्रवर्तन कुनै मान्यता मात्र होइन, यो हाम्रा सम्पूर्ण गतिविधिको केन्द्रमा रहेको विषय हो। अमेरिका होस् वा नाइजेरिया, स्टार्टअप होस् वा इन्टरप्राइज, बैंकिङ, शिक्षा वा सरकारी क्षेत्र, हामी सुरक्षित, मापनयोग्य र भविष्य-उन्मुख प्रविधि दिन प्रयत्नशील छौं। यो मान्यता बहुपक्षीयता, समावेशिता र उच्चतम गुणस्तरको सेवा प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धताको प्रमाण हो,” उनले थपे।

प्रिमियर टिएर स्टाटस किन महत्त्वपूर्ण छ?

जेनेस सलुशनले एडब्लुएस प्रिमिएयर टिएर स्टाटस प्राप्त गरेकाले उसका ग्राहक तथा साझेदारहरूलाई एडब्लुएसका उच्चतम विशेषज्ञता र स्रोतसाधनमा पहुँच, एडब्लुएस विशेषज्ञहरूसँग द्रुत र प्रत्यक्ष सहयोग, एडब्लुएस रोड म्याप तथा बेटा कार्यक्रममा प्रभावशाली संलग्नता, र प्रमाणित गुणस्तर तथा नियमअनुसारको सेवा पाउन सहयोग पुर्‍याउने कम्पनीले बताएको छ।

जेनेस सलुशनका प्रमुख प्राविधिक अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले भने, “यो उपलब्धिले हामी ठूलो लक्ष्य बोकेको, स्पष्ट उद्देश्य र नवप्रवर्तनप्रतिको जोशसहितको संस्था हौँ भन्ने देखाउँछ। यो क्लाउड प्रविधिमार्फत सार्थक प्रभाव पार्ने हाम्रो दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। प्रिमियर पार्टनर बनेका कारणले हामीलाई एडब्लुएससँग सहकार्य गर्दै जटिल डिजिटल चुनौतीहरूको समाधान गर्न र ग्राहकलाई विश्वस्तरको समाधान प्रदान गर्न थप मौका दिन्छ।”

प्रकाशित: २८ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया