Technology Khabar २७ असार २०८२, शुक्रबार
काठमाडौं ।
अर्बपति इलन मस्कले एक्सएआईको पछिल्लो मोडेल ग्रोक ४ अनावरण गरेका छन्। बिहीबार राति लाइभस्ट्रिममार्फत् एक्सएआईको पछिल्लो मोडेल ग्रोक ४ को अनावरण गर्दै उनले च्याटबोटको लागि यो “अत्यन्तै ठूलो प्रगति” भएको दावी गरेका छन्।
“विश्वको सबैभन्दा शक्तिशाली एआई सहायक” को रूपमा प्रस्तुत गरिएको नयाँ मोडेलको प्रसारणको क्रममा एक समयमा १.५ मिलियन भन्दा बढी दर्शकहरूको सहभागिता रहेको रिपोर्ट गरिएको छ।
प्रत्यक्ष प्रसारणको क्रममा, कर्मचारीहरूले लार्ज ल्याङ्गवेज मोडेलहरूको लागि परिचित शैक्षिक परीक्षण, “एण्ड अफ म्यानकाइण्ड एक्जाम” मा ग्रोक ४ को प्रदर्शनको बारेमा छलफल गरे थिए जसमा गणित, विज्ञान र भाषाविज्ञान जस्ता विविध क्षेत्रहरूबाट २,५०० भन्दा बढी प्रश्नहरू समावेश रहेको बताइएको छ।
ग्रोक ४ ले अतिरिक्त उपकरणहरू बिना लगभग एक चौथाई पाठ अर्थात् टेक्स्टमा आधारित प्रश्नहरू समाधान गर्न सक्षम भएको कम्पनीले जानकारी दिएको छ। तुलनात्मक रूपमा, ओपनएआईले फेब्रुअरीमा यसको डीप सर्च उपकरणले लगभग २६ प्रतिशत पाठ–आधारित प्रश्नहरू समाधान गर्न सक्ने बताइएको थियो।
त्यसैगरी ग्रोकले ह्युमनोइड रोबोटहरू मार्फत संसारसँग कुराकानी गर्न सक्षम हुने मस्कले आशा व्यक्त गरेको उल्लेख गरिएको छ।
“ग्रोकले अर्को वर्ष, पछिल्लो समयमा, र सायद यस वर्षको अन्त्यसम्ममा नयाँ, साँच्चै उपयोगी प्रविधिहरू पत्ता लगाउनेछ भन्ने मलाई आशा छ। यसले अर्को वर्ष भौतिक रूप लिन सक्छ। यसको बारेमा सोच्नुहोस्”, मस्कले रहस्यमय रूपमा बताए।
प्रसारणको क्रममा, मस्कले “कृत्रिम बुद्धिमत्ताले मानव बुद्धिमत्तालाई धेरै पार गर्नेछ” भनेर कहिलेकाहीं चिन्ता गर्ने गरेको स्वीकार गर्दै “यो मानवताको लागि खराब वा राम्रो हुनेछ” भनेर उनले सोच्ने गरेको बताएका छन्।
“यो राम्रो हुनेछ भन्ने मलाई लाग्छ। यो सम्भवतः राम्रो नै हुनेछ। यद्यपि, म यो तथ्यसँग सम्झौतामा आएको छु कि, यो राम्रो नभए पनि, कम्तिमा म यसलाई हेर्न बाँच्न चाहन्छु”, मस्कले थप उल्लेख गरेको छन्।
“ग्रोक प्रयोगकर्ताको मागसँग धेरै मिल्दोजुल्दो भएको र मूल रूपमा, खुसी पार्न र हेरफेर गर्न धेरै उत्सुक थियो। यो समाधान भइरहेको” एक्सका प्रमुखले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ असार २०८२, शुक्रबार