Technology Khabar २५ असार २०८२, बुधबार
काठमाडौं ।
एप्पलले यो वर्षको सेप्टेम्बरमा आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्ससँगै आईफोन १७ एयर सार्वजनिक गर्दैछ। अल्ट्रा–स्लिम स्मार्टफोन श्रेणीमा पहिलो पटक प्रवेश गर्न लागेको कम्पनीको यो डिभाइसको बारेमा धेरै चर्चाहरू सुन्नमा आएका छन्।
यसअघि पनि आईफोन १७ एयर डमी युनिटहरू देखा परिसकेका छन्। यसै क्रममा अब कालो रङ्गको आईफोन १७ एयर डमी युनिटको एउटा ह्यान्ड्स–अन भिडियो बाहिरिएको छ। यस पछिल्लो ह्यान्ड्स–अन भिडियोमा डिभाइसको डिजाइन र अत्यधिक पातलो रहेको देख्न सकिन्छ।
आईफोन १७ एयर ५.५ एमएम वा ५.६५ एमएम पातलो हुने हल्ला रहेको छ। डिभाइस कति पातलो हुनेछ भनेर अहिलेसम्म सही जानकारी प्राप्त नभए पनि यो निश्चित रूपमा प्रभावशाली रूपमा पातलो हुने र १४५ ग्राम तौलसहित हलुका हुनेछ भन्ने हल्लाहरू रहेका छन्।
त्यसैगरी डिभाइसमा सानो २,८०० एमएएच ब्याट्री र पछाडि एउटा मात्र क्यामरा हुने सम्भावनाको पनि उल्लेख गरिएको छ। स्लिम प्रोफाइल प्राप्त गर्नको लागि यो दुवै पक्षमा सम्झौता गर्नु पर्ने थप उल्लेख गरिएको छ।
आईफोन १७ एयरमा पनि प्रो र प्रो म्याक्सको जस्तै १२ जीबी र्याम, १२० हर्ज रिफ्रेस रेट स्क्रिन हुनुपर्ने अनुमान गरिएको छ। आईफोन १७ एयरको फ्रेम टाइटेनियमको हुने बताइएको छ भने प्रो र प्रो म्याक्स अब स्टेनलेस स्टील र टाइटेनियमको साथ केही वर्षको प्रयोग पछि एल्युमिनियममा फर्कने हल्ला रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
iPhone 17 Air Black looks so good pic.twitter.com/ovOTNUKEg6
— Majin Bu (@MajinBuOfficial) July 8, 2025
प्रकाशित: २५ असार २०८२, बुधबार