
काठमाडौं ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले हालै रसुवामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन सम्बन्धित सबैमा आग्रह गरेको छ। संस्थाले आज एक विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेको हो।
उक्त बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका केरुङ र रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याए नाडाको भनाई छ।
संस्थाका अनुसार यसले भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरु समेत बगाएको छ। यो कठिन घडीमा सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्दै आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय रहेकोले त्यसमा गहिरो सहानुभूतिसमेत प्रकट गरेको छ।
‘नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको छ। पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा हामी ऐक्यबद्धता जनाउँछौं । यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछौ । यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढन अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: २४ असार २०८२, मंगलवार