Technology Khabar २४ असार २०८२, मंगलवार
काठमाडौं ।
संयुक्त राज्य अमेरिकाका जलवायु वैज्ञानिकहरू अब समुद्री बरफको मात्रा मापन गर्न प्रयोग हुँदै आएको स्याटेलाइट डाटा पाउनबाट बञ्चित हुँदैछन्। अमेरिकी रक्षा मन्त्रालयले वैज्ञानिक अनुसन्धानका लागि सो डाटा प्रशोधन गर्ने प्रक्रिया रद्द गर्ने निर्णय गरेपछि यस्तो अवस्था आएको हो।
समुद्री बरफको मात्रा जलवायु परिवर्तनको संवेदनशील सूचक मानिन्छ। तर यो नयाँ निर्णय अमेरिकी सरकारको विज्ञान र वैज्ञानिक अनुसन्धानको बजेट कटौती गर्न थालेको पछिल्लो प्रहार भएको वैज्ञानिक तथा विश्लेषकहरूको भनाइ छ।
यसअघि पनि गोड्डार्ड इन्स्टिच्युट फर स्पेस स्टडिज र नेशनल साइन्स फाउण्डेशनलाई कार्यालयबाट हटाइएको, जलवायु विज्ञानसम्बन्धी वेबसाइटका सामग्री हटाइएको, आँधीपूर्वानुमानसम्बन्धी डेटा कटौती गरिएको र धेरै नासा परियोजनाहरू खतरामा पारिएको तथ्य सार्वजनिक भइसकेको छ ।
स्पेस डटकमका अनुसार युनिभर्सिटी अफ कोलोराडोमा रहेको नेशनल स्नो एण्ड आइस डाटा सेन्टर (एनएसआईडीसी) का वैज्ञानिकहरूले अहिले अमेरिकी वायुसेनाको डिफेन्स मेट्रोलोजिकल स्याटेलाइ प्रोग्राम अन्तर्गत उडाइने स्याटेलाइटमा जडित स्पेशल सेन्सर माइक्रोवेभ इमेजर/साउण्डर (एसएसएमआईएस) बाट डाटा लिँदै आएका छन्। यो उपकरणले भूभाग र समुद्रमा बरफको अवस्थालाई स्क्यान गर्न सक्छ।
एसएसएमआईएसबाट प्राप्त डाटा युद्धपोत परिचालन योजना बनाउन रक्षा मन्त्रालयले प्रयोग गर्दै आएको भए पनि, हालसम्म वैज्ञानिकहरूलाई पनि सो डाटा उपलब्ध गराइँदै आएको थियो ।
तर जुन २४ मा अमेरिकी रक्षा मन्त्रालयले घोषणा गर्दै अमेरिकी नेभीको फ्लीट न्युमेरिकल मेट्रोलोजिकल एण्ड ओसिनोग्राफी सेन्टरले डाटाको रियल-टाइम प्रोसेसिङ बन्द गर्ने निर्णय लिएको जानकारी दिएको हो ।
यद्यपि एनपीआरको रिपोर्ट अनुसार वैज्ञानिक समुदायको चर्को विरोधपछि उक्त निर्णयलाई जुलाईको अन्त्यसम्म स्थगन गरिएको छ ।
शुद्ध वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यो निर्णयलाई “पागलपन” भन्ने गरिएको छ। किनकि समुद्री हिउँ पग्लनु, समुद्री सतहको बढ्दो तापमान, र वायुमण्डलीय तापक्रममा वृद्धि ग्लोबल वार्मिङको प्रत्यक्ष सूचक हुन्। समुद्री हिउँ ठूला ग्लेसियरहरू पग्लनबाट जोगाउने एउटा सुरक्षा कवच हो जुन हटेपछि समुद्री सतहको खतरनाक रूपमा वृद्धि हुने खतरा झनै बढ्नेछ ।
यसरी डाटा नपाउँदा वैज्ञानिकहरू जलवायु परिवर्तनको सबैभन्दा महत्वपूर्ण संकेतहरूमध्ये एउटाबाट अन्धकारमा रहनेछन्, जसले हामी खतराको कति नजिक पुगिसकेका छौं भन्ने बुझ्न असम्भव बनाउनेछ ।
यसका व्यावसायिक असरहरू पनि छन् । कम बरफ भएको समुद्र क्षेत्रमा कार्गो जहाजहरूलाई आर्कटिक क्षेत्र हुँदै छोटो र छिटो मार्गबाट सञ्चालन गर्न सकिने सम्भावना हुन्छ, जुन विश्व व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ ।
तर अमेरिका मात्र यस्तो डेटा राख्ने देश होइन । जापानको जाक्सा ( जापानिज एरोस्पेस एक्स्प्लोरेशन एजेन्सी) ले पनि शिजुकु (जीसीओएम-डब्लू) नामक सेटेलाइटमार्फत एडभान्स्ड माइक्रोवेभ स्क्यानिङ रेडियोमिटर २ (एएसएमआर २) उपकरण प्रयोग गर्दै आइरहेको छ, जसले एसएसएमआईएस जस्तै कार्य गर्छ।
एनएसआईडीसीले पहिले नै एएसएमआर २ डेटा प्रयोगतर्फ योजना बनाइसकेको भए पनि, उपकरण क्यालिब्रेसन र प्रणाली एकीकरण गर्न केही समय लाग्ने भएकाले डेटामा खतरनाक खाली स्थान (डाटा ग्याप) आउने सम्भावना छ, जुन हामीले अहिलेको जलवायु संकटको घडीमा बेहोर्न सक्ने स्थिति छैन।
प्रकाशित: २४ असार २०८२, मंगलवार