काठमाडौं ।
गुगलको एआई ओभरभ्यूज सम्बन्धमा युरोपेली आयोगमा प्रतिस्पर्धाविरोधी उजुरी दर्ता गरिएको छ। रोयटर्सका अनुसार यो उजुरी स्वतन्त्र प्रकाशकहरूको संगठन ‘इन्डिपेन्डेन्ट पब्लिशर्स अलायन्स’ले दर्ता गरेको हो।
उजुरीमा गुगलले “गुगल सर्चमा एआई ओभरभ्यूजका लागि वेब सामग्रीको दुरुपयोग गरेको” आरोप लगाइएको छ। यसले विशेषगरी समाचार प्रकाशकहरूलाई ट्राफिक, पाठक संख्या र आम्दानीमा ठूलो नोक्सान गराएको उल्लेख गरिएको छ।
उजुरीमा प्रकाशकहरू यदि गुगल सर्च नतिजाबाट पूर्ण रूपमा हट्न नचाहने हो भने, उनीहरूसँग आफ्नो सामग्री एआई सारांशमा प्रयोग हुन नदिन कुनै विकल्प नहुने थप भनिएको छ।
गुगलले एआईद्वारा सिर्जित सारांशहरू वेब खोज नतिजाको शीर्ष भागमा देखाउन थालेको एक वर्षभन्दा बढी भइसकेको छ। सुरुआतमा गलत उत्तरहरू देखिए पनि, यो सुविधा विस्तार हुँदै गएको छ र यसले समाचार प्रकाशकहरूको वेबसाइटमा आउने ट्राफिकमा ठूलो गिरावट ल्याएको बताइएको छ।
गुगलले रोयटर्सलाई दिएको प्रतिक्रिया अनुसार, “सर्चमा नयाँ एआई अनुभवहरूले मानिसहरूलाई अझ धेरै प्रश्न गर्न सक्षम बनाउँछ, जसले सामग्री र व्यवसायहरू खोजिन सक्ने नयाँ अवसरहरू सिर्जना गर्छ।” कम्पनीले वेब ट्राफिकसम्बन्धी दाबीहरू प्रायः अधुरो तथ्यमा आधारित हुने तर्क गर्दै “साइटहरूले विभिन्न कारणले ट्राफिक गुमाउन वा पाउन सक्छन्” भनेको छ।
प्रकाशित: २२ असार २०८२, आईतवार