Technology Khabar २२ असार २०८२, आईतवार
काठमाडौं ।
गत वर्षको तुलनामा २ प्रतिशत गिरावटको साथ लगातार पाँचौं त्रैमासिकको लागि स्मार्टवाचको बिक्री घटेको काउन्टरपोइन्टका विश्लेषकहरूले रिपोर्ट गरेका छन्।
उनीहरुले स्मार्टवाच उद्योगले राम्रो गरिरहेको छैन भन्ने तथ्य पनि सार्वजनिक गरेका छन्। यद्यपि, चीनले भने स्मार्टवाच ढुवानीमा वृद्धि अनुभव गरिरहेको बताइएको छ जुन वर्षिक रुपमा ३७ प्रतिशतले ठूलो वृद्धि हो।
विज्ञहरूले विश्वव्यापी स्मार्टवाच बजारमा गिरावटको दुई प्रमुख कारणहरू औंल्याएका छन्। भारतको एक समयको बढ्दो स्मार्टवाच बजारमा उल्लेखनीय र निरन्तर गिरावटको साथमा एप्पल स्मार्टवाच बिक्रीमा आएको गिरावट पहिलो कारण भएको बताइएको छ।
एप्पलले २० प्रतिशत विश्वव्यापी हिस्साको साथ शीर्ष स्थान कायम राखेको छ। तर कम्पनीले ढुवानीमा ९ प्रतिशत गिरावट भोगेको छ।
एप्पलपछि ह्वावेले ५३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। त्यस्तै शाओमीले पनि गत वर्षको ६ प्रतिशत बाट १० प्रतिशत वृद्धि गरेको छ। साथै शाओमीले पनि ह्वावेले जस्तै समान ५३ प्रतिशत वृद्धि रेकर्ड गरेको उल्लेख गरिएको छ।
सामसङले वर्षिक रुपमा आफ्नो बजार हिस्साको लगभग २३ प्रतिशत गुमाएको र ९ प्रतिशतबाट घटेर ७ प्रतिशतले विश्वव्यापी हिस्सामा पुगेको छ।
मानिसहरूले महँगो र सुविधा सम्पन्न डिभाइसहरू खोजिरहेको हुनाले उपभोक्ताहरूको प्राथमिकतामा उल्लेखनीय परिवर्तनहरू देखा परिरहेका छन्। १००–२०० अमेरिकी डलर खण्डले २१ प्रतिशत वृद्धि गरेको छ भने १०० अमेरिकी डलर भन्दा कम वर्गको ढुवानीमा १७ प्रतिशत गिरावट आएको जनाइएको छ।
आगामी दिनहरुमा स्मार्टवाच बजारले सन् २०२५ को अन्त्यसम्ममा बिक्रीमा सामान्य वृद्धि देख्ने र लगभग ३ प्रतिशत वृद्धि हुने काउन्टरपोइन्टले विश्वास व्यक्त गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ असार २०८२, आईतवार