
काठमाडौं ।
अष्ट्रेलियाको गुडम्यान ग्रुप ले हङकङभर डाटा सेन्टर व्यवसाय विकास गर्न अन्तर्राष्ट्रिय पेन्सन कोष र लगानीकर्ताहरूसँग मिलेर २.७ अर्ब डलरको लगानी समूह बनाउने भएको छ। यसबारे कम्पनीले शुक्रबार जानकारी दिएको हो।
उद्योगसम्बन्धी सम्पत्ति व्यवसायमा संलग्न गुडम्यानले डच लगानीकर्ता पीजीजीएम र एपीजी, क्यानडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्ड तथा सीबीआरई इन्भेस्टमेन्ट म्यानेजमेन्ट को इन्डाइरेक्ट प्राइभेट रियल इस्टेट स्ट्राटेजिजसँग साझेदारी गरेको बताएको छ। एउटा अज्ञात मध्यपूर्वी लगानीकर्ता पनि साझेदार रहेको कम्पनीले जनाएको छ।
गुडम्यान यो साझेदारीमा २० प्रतिशत हिस्सेदार रहनेछ।
रोयटर्सका अनुसार सिड्नीमा आधारित कम्पनीको सेयर मूल्य शुक्रबार १ प्रतिशतले बढेर ३५.०८ अस्ट्रेलियन डलर पुगेको छ, जुन पाँच महिनाको उच्च मूल्य नजिकको स्तर हो।
समूहले हाल गुडम्यानको स्वामित्वमा रहेको चारवटा डाटा सेन्टर र विकासमा रहेका दुईवटा सेन्टरको स्वामित्व राख्ने बताइएको छ। गुडम्यान को डाटा सेन्टर पोर्टफोलियोले हङकङको कुल डाटा सेन्टर बजारको करिब ३० प्रतिशत विद्युत क्षमतालाई प्रतिनिधित्व गर्छ।
गुडम्यानले जापान र युरोपमा पनि यस्तै डाटा सेन्टर साझेदारीहरू सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार जापानमा रहेको साझेदारीले सन् २०२५ को अन्त्यसम्ममा १.१ अर्ब डलरको सम्पत्ति मूल्य पुर्याउनेछ।
गुडम्यानको हङकङमा १० अर्ब अस्ट्रेलियन डलर (६.५७ अर्ब डलर) बराबरको उद्योगसम्बन्धी सम्पत्ति पोर्टफोलियो छ, जसको केही हिस्सा भविष्यमा डाटा सेन्टरमा रूपान्तरण गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी ग्रेग गुडम्यानले बताएका छन्।
“हामीसँग औद्योगिक सम्पत्तिहरू छन् जसलाई पुनर्विकास गरेर डाटा सेन्टर बनाउन सकिन्छ, अनि ती यो साझेदारीमा विकासका लागि समावेश गरिनेछ,” गुडम्यानले भने।
प्रकाशित: २२ असार २०८२, आईतवार