Technology Khabar २१ असार २०८२, शनिबार
काठमाडौं ।
नयाँ १९–कोर फाइबर केबलले विश्व रेकर्ड गतिमा डाटा प्रसारित गरेको छ।
शहरका सडकहरू, ग्रामीण इलाकाका सडकहरू र गहिरो समुन्द्रको भुइँमुनि गाडिएका ग्लास थ्रेड्स (शिशाका धागोहरू) ले अनलाइनमा गरिने लगभग सबै कुरा प्रसारण गर्ने गर्दछ।
प्रायः मानव कपाल जस्तै मसिनो यी फाइबररूले यस अघिदेखि नै आश्चर्यजनक मात्रामा डाटा ट्रान्स्फर गर्दै आएका छन् र अब जापानी अनुसन्धानकर्ताहरूले केबलको सेप (आकार) वा साइज परिवर्तन नगरी ती सीमाहरूलाई अझ अगाडि बढाएका छन्।
सुमितोमो इलेक्ट्रिक र युरोपेली सहयोगीहरूसँग काम गर्दै जापानको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि संस्थान (नेशनल इन्स्टिच्युट अफ इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी – एनआईसीटी) को नेतृत्वमा रहेको टोलीले १,८०८ किलोमिटरको दूरीमा प्रति सेकेन्ड १.०२ पेटाबिट्सको प्रसारण गति हासिल गरेको छ।
नयाँ विश्व रेकर्डः
परीक्षणमा ०.१२५ एमएमको स्ट्याण्डर्ड क्ल्याडिङ डायमिटर (व्यास) भएको १९–कोर अप्टिकल फाइबर प्रयोग गरिएको बताइउको छ। यसको मोटाई पनि विश्वभरका नेटवर्कहरूमा पहिले नै तैनाथ गरिएको सिङ्गल–कोर फाइबरहरूको जस्तै मोटाई भएको उल्लेख गरिएको छ।
यो केबलले सामान्यतया एउटाको लागि बनाइएको वा प्रयोग गरिने ठाउँमा १९ ओटा अलग–अलग लाइट पाथ्स (प्रकाश मार्गहरू) समेट्ने भएकाले यसलाई पूर्ण रूपमा नयाँ पूर्वाधारको आवश्यकता नपर्ने उल्लेख गरिएको छ।
यसले अवस्थित प्रणालीहरूसँग उपयुक्त रहँदै क्षमतामा नाटकीय छलाङ्गको लागि अनुमति प्रदान गरेको बताइएको छ।
त्यसैगरी पेटाबिट–वर्ग सिग्नलले मानक–आकारको फाइबरमा १,००० किलोमिटर भन्दा बढी यात्रा गरेको यो पहिलो पटक भएको जनाइएको छ।
यो परिणामले प्रति सेकेन्ड–किलोमिटर १.८६ एक्साबिटमा क्यापासिटि–डिस्ट्यान्स प्रोडक्ट (क्षमता–दूरी उत्पादन) को लागि नयाँ विश्व रेकर्ड स्थापित गरेको छ।
लामो दूरीको ब्याकबोन सिमुलेट (अनुकरण) गर्नको लागि ८६.१ किलोमिटर लामो नयाँ फाइबर मार्फत सिग्नलहरूलाई २१ पटक लुप गरिएको उल्लेख छ। एम्पलीफायरहरूले प्रत्येक पासमा सिग्नललाई बुस्ट गरेको र सबै १९ कोरहरूको लागि सी र एल वेभलेन्थ ब्यान्डहरूमा काम गर्न सावधानीपूर्वक ट्युन गरिएको बताइएको छ।
त्यसैगरी १६क्यूएएम सँग मोड्युलेट गरिएको १८० वेभलेन्थ प्रयोग गरेर, प्रणालीले समानान्तर डाटा स्ट्रिमहरूको विशाल मात्रा ह्यान्डल गर्न सक्षम भएको उल्लेख गरिएको छ।
सिमुलेटेड रुट (मार्ग) यात्रा गरेपछि, सिग्नलहरूलाई एमआईएमओ डिजिटल सिग्नल प्रोसेसिङ्ग प्रयोग गरेर मल्टि–च्यानल रिसीभरद्वारा अलग गरिएको बताइएको छ।
यसले थप फाइबर कोरहरू थप्न वा केबल डायमिटर (व्यास) विस्तार गर्नबाट जोगाएको थियो। त्यसो नभएको खण्डमा भने यसले हालको नेटवर्कहरूसँग एकीकरणलाई कठिन बनाउने थियो।
नयाँ उपलब्धिलाई सन्दर्भमा राख्नको लागि, सन् २०२५ को सुरुमा औसत अमेरिकी ब्रोडब्याण्ड गति लगभग २९०एमबीपीएस रहेको छ। प्रति सेकेन्ड १.०२ पेटाबिटको नयाँ रेकर्ड १,०२०,०००,००० एमबीपीएस बराबर छ जुन ३.५ मिलियन गुणा बढी छिटो हो।
यी परिणामहरू ओएफसी २०२५ मा पोस्ट–डेडलाइन पेपरको रूपमा प्रस्तुत गरिएको बताइएको छ जसले भविष्यको अप्टिकल नेटवर्कहरू कस्तो देखिन सक्छ भन्ने झलक प्रदान गर्दछ।
यद्यपि यसले वर्क (काम) वा होम (घर) कनेक्सन (जडान) हरूलाई रातारात रूपान्तरण नगरे पनि, अनुसन्धानले मानक फाइबर अझै कति टाढा जान सक्छ भन्ने तथ्य देखाउने उल्लेख गरिएको छ। टोलीले अब वास्तविक–विश्व तैनाथीको नजिक जान एम्पलीफायर इफिसियन्सी र सिग्नल प्रोसेसिङ्गलाई परिष्कृत गर्ने लक्ष्य राखेको बताइएको छ।
विश्वव्यापी डाटा ट्राफिक बढ्दै जाँदा, यस्ता प्रगतिहरूले नयाँ खाडलहरू खन्नु पर्ने आवश्यकता बिना नै पूर्वाधारलाई अझ विस्तार गर्ने तरिका प्रदान गर्दछ भनी टेकराडारले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ असार २०८२, शनिबार