
काठमाडौं ।
युरोपेली संघले सोमबार अमेरिकाको आलोचनालाई अस्वीकार गर्दै आफ्नो ऐतिहासिक प्रविधि नियमहरूमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। धेरैले आशंका गरेअनुसार यी नियमहरू अमेरिका–युुरोप व्यापार वार्तामा समेटिएर कमजोर पारिन सक्ने सम्भावनालाई पनि संघले नकारेको हो।
रोयटर्सका अनुसार हालै लागू गरिएका डिजिटल मार्केट्स एक्ट (डीएमए) ले अल्फाबेट, अमेजन, एप्पल, मेटा प्लेटफर्म्स, माइक्रोसफ्ट, चीनको बाइटडान्स र बूकिङ डटकमजस्ता ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्न खोजेको छ।
त्यस्तै डिजिटल सर्भिसेज एक्ट (डीएसए) ले ठूला अनलाइन प्लेटफर्महरूलाई अवैध तथा हानिकारक सामग्री हटाउन थप जिम्मेवारी दिएको छ। यी दुवै कानुनप्रति अमेरिकी प्रशासनले विरोध जनाउँदै ती नियमहरूले अमेरिकी प्रविधि कम्पनीहरूलाई अनुचित रूपमा लक्षित गरेको आरोप लगाएको थियो।
“यी कानुनहरू परिवर्तन हुने छैनन्। डीएमए र डीएसए अमेरिका सँगको व्यापार वार्ताको एजेन्डामा छैनन्,” युरोपेली संघका प्रवक्ता थोमस रेग्नियरले दैनिक समाचार सम्मेलनमा बताएका छन्।
उनले थप भने, “हामी हाम्रो ऐतिहासिक कानुनको कार्यान्वयनमा कुनै विदेशी सरकारको हस्तक्षेप स्वीकार्दैनौं। यदि हामी कुनै तेस्रो देशको दबाबमा कार्यान्वयनको शैली परिवर्तन गर्न थाल्यौं भने, हामीले धेरै देशहरूसँग त्यही गर्नु पर्ने हुन्छ।”
यसै वर्षको सुरुवातमा युरोपेली संघले एप्पल र मेटा कम्पनीमाथि पहिलोपटक जरिवाना लगाएको थियो। यदि आगामी महिनाहरूमा यिनीहरूले नियमको पूर्ण पालना नगरेको पाइएमा थप दैनिक जरिवानाको जोखिम यथावत् रहेको संघले चेतावनी दिएको छ।
प्रकाशित: १९ असार २०८२, बिहीबार