Technology Khabar १८ असार २०८२, बुधबार
काठमाडौं ।
गुगलले एन्ड्रोइड १६ मा नयाँ सुरक्षा सुविधा प्रस्तुत गर्दैछ जसले अरु कसैले तपाईंको फोन ट्याप गरिरहेको सम्भावना पत्ता लगाउनेछ।
गुगलले एन्ड्रोइड १६ मा एक महत्त्वपूर्ण सुरक्षा अपडेटको घोषणा गरेको छ। अपरेटिङ सिस्टमले तपाईंको फोन फेक (नक्कली) बेस स्टेशनमा जडान भएको बेला पहिचान गर्न सक्षम हुनेछ भने यसले तपाईंको गोप्य रूपमा कुराकानी सुन्ने वा स्थान ट्र्याक गर्ने प्रयासलाई संकेत गर्न सक्ने रिपोर्ट गरिएको छ।
टेलिग्राफका अनुसार सेल फोन टावरहरूको नक्कल गर्ने “स्टिङ्गरे” डिभाइसहरूले ट्रिक (छल) गरी तपाईंको फोनलाई असुरक्षित नेटवर्कमा जडान गर्न सक्ने र यसले सम्भावित आक्रमणकारीहरूलाई तपाईंको कल, सन्देश का साथै अन्य डाटा पहुँच गर्न अनुमति दिने भएकाले यो सुविधा विशेष रुपमा महत्त्वपूर्ण छ।
“मोबाइल नेटवर्क सेक्युरिटी” भनेर फोनको सेटिङहरूमा रुपमा देखा पर्ने नयाँ विकल्प मार्फत प्रयोगकर्ताहरूले नेटवर्क नोटिफिकेसन्स (सूचनाहरू) इनेबल (सक्षम) गर्न सक्नेछन्।
यो सुविधा इनेबल (सक्षम) भएपछि, यदि तपाईंको फोन असुरक्षित नेटवर्कमा स्विच भयो भने वा नेटवर्कले आईएमईआई वा आईएमएसआई नम्बरहरू जस्ता संवेदनशील डाटा अनुरोध गरेको खण्डमा एन्ड्रोइडले तपाईंलाई चेतावनी दिनेछ।
त्यसैगरी त्यहाँ २जी कनेक्सन असक्षम गर्ने विकल्प पनि उपलब्ध हुनेछ जुन त्यस्ता आक्रमणहरूको लागि बढी संवेदनशील हुने गरेको छ।
यो सुविधा एन्ड्रोइड १६ मा उपलब्ध हुने भए तापनि यो सबै डिभाइसहरूका लागि उपलब्ध नहुने उल्लेख गरिएको छ। यो रेडियो एचएएल ३.० लाई समर्थन गर्ने नवीनतम हार्डवेयर भएका फोनहरूमा सीमित हुनेछ।
त्यसका साथै एन्ड्रोइड १६ भएका धेरैजसो डिभाइसहरूले पनि यो विकल्प प्रयोग गर्न नसक्ने थप उल्लेख गरिएको छ।
इन्स्टलेसनपछि यो सुविधा डिसेबल्ड (असक्षम) पारिनेछ र प्रयोगकर्ताहरूले यसलाई सेटिङहरूमा आफैं सक्षम गर्नुपर्ने गुगलले बताएको छ।
यो विकल्प सरुमा गुगल पिक्सेल फोनहरूमा उपलब्ध हुने अपेक्षा गरिएको छ भने अन्य निर्माताहरूले यसलाई आफ्नो सफ्टवेयर योजना अनुसार लागू गर्नुपर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ असार २०८२, बुधबार