वैज्ञानिकहरुले बनाए हावाबाट सोझै सुरक्षित पिउने पानी संकलन गर्न सक्ने ‘बबल र्याप’

  • Technology Khabar | १६ असार २०८२, सोमबार
वैज्ञानिकहरुले बनाए हावाबाट सोझै सुरक्षित पिउने पानी संकलन गर्न सक्ने ‘बबल र्याप’

काठमाडौं ।

अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटीका अनुसन्धानकर्ताहरूले एउटा उच्च प्रविधियुक्त “बबल र्याप” तयार गरेका छन्, जसले सिधै हावाबाट सुरक्षित पिउने पानी संकलन गर्न सक्छन्।

यो काम अमेरिकाको सबैभन्दा सुख्खा मरुभूमि डेथ भ्यालीजस्तो स्थानमा समेत सम्भव हुने उनीहरुको भनाइ छ।

नयाँ पानी संकलक यन्त्रले संसारभरका मानिसहरूलाई सुरक्षित र सहज रूपमा पिउने पानी उपलब्ध गराउने दिशामा ठूलो प्रगति गरेको वैज्ञानिकहरूले बताएका छन्। यो यन्त्रले हावामा पानीको वाफ पाइने क्षेत्रमा काम गर्न सक्छ। सो अध्ययन ११ जुनमा नेचर वाटर पत्रिकामा प्रकाशित भएको हो।

यो यन्त्र धेरै पानी सोस्ने क्षमतायुक्त पदार्थ हाइड्रोजेलबाट बनेको हो जसलाई दुईवटा काँचको तहबीच झ्यालजस्तै बनावटमा राखिएको हुन्छ। राति यो यन्त्रले वातावरणबाट जलवाष्प पानीको वाफ सोस्छ भने दिनमा विशेष कोटिङले काँचलाई चिसो राख्ने भएकाले वाफ त्यहीँ संकुचित भएर पानीमा रूपान्तरित हुन्छ। त्यसपछि पानी काँच हुँदै बगेर पाइप प्रणालीमा संकलन हुन्छ।

हाइड्रोजेललाई विशेष आकारमा बनाइएको छ — बबल र्याप जस्तो डोमहरू, जसले जलवाष्प सोस्दा फुलेर सतहको क्षेत्रफल बढाउँछ। यसले अझ बढी पानी सोस्न सहयोग पुर्‍याउँछ।

अनुसन्धानकर्ताहरूले यो यन्त्रलाई क्यालिफोर्निया र नेभाडाको भाग समेटिएको डेथ भ्यालीमा एक सातासम्म परीक्षण गरे। यो स्थान संसारको सबैभन्दा गर्मी हुने ठाउँ हो र उत्तर अमेरिकाको सबैभन्दा सुख्खा स्थान हो।

उक्त यन्त्रले हरेक दिन झन्डै एक चौथाइदेखि दुई तिहाइ कपसम्म (५७–१६१.५ मिलिलिटर) पानी उत्पादन गर्‍यो। वैज्ञानिकहरूका अनुसार बढी आर्द्रता भएका स्थानहरूमा यो यन्त्रले झनै धेरै पानी उत्पादन गर्नेछ।

एमआईटीका प्रतिनिधिहरूले भनेअनुसार यो डिजाइन विगतका प्रयासहरूभन्दा निकै प्रभावकारी छ र यसलाई चलाउन बिजुली आवश्यक पर्दैन।

प्रकाशित: १६ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार