
काठमाडौं ।
हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु-च्याम संस्थाबिच नुम्बुर बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भएको छ।
नगरपालिकाकातर्फबाट नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पा र सोलु च्यामकोतर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतापश्चात् नगरप्रमुख शेर्पाले नुम्बुर बहुप्राविधिक शिक्षालयको दिगो सञ्चालनको भरपर्दो आधार तयार भएको भन्दै यसले सोलुदुधकुण्ड नगरपालिका मात्रै नभई सिङ्खगे सोलुखुम्बु प्राविधिक शिक्षामा नयाँ सम्भावनाको ढोका खोलेको बताए।
सोलुदुधकुण्ड नगरपालिका-७ मा यसअघि नै करिब चार करोड रुपैयाँको लागतमा आधुनिक प्राविधिक शिक्षालय निर्माण भई पठनपाठन सुरु भएको छ। फ्रान्सेली दातृ निकाय र सोलुदुधकुण्ड नगरपालिकाको लागत साझेदारीमा नुम्बुर प्राविधिक शिक्षालय सञ्चालन भएको हो।
सिप सिकाइ विदेश पलायनबाट रोक्ने उद्देश्यले निर्माण गरिएका आधुनिक र सुविधा सम्पन्न प्राविधिक शिक्षालयमा निःशुल्क रूपमा पढाउन थालिएको नगरप्रमुख शेर्पाले बताए।
पहिलो प्राथमिकतामा नगरपालिका र बाँको जिल्लाभरिका विद्यार्थी भर्ना गरिएको छ। प्लम्बिङ कुक र हाउस वायरिङसम्बन्धी तत्काल १०/१० जनाका दरले ३० जना विद्यार्थीलाई पढाउन सुरु गरिएको प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले जानकारी दिए।
सिटिइभिटोबाट सम्बन्धन लिइएको तोन ओटै कोर्ष दुई वर्षे हुन्। एसइई परीक्षा दिएका विद्यार्थी आवासीय रूपमा उक्त कक्षामा सामेल भएका छन्। काठमाडौं र विराटनगरबाट दक्ष प्रशिक्षक ल्याइएको उक्त प्राविधिक शिक्षालयमा सबै विद्यार्थीका लागि खान बस्नको व्यवस्था मिलाइएको छ। अब ६ महिनापछि थप विधामा ३० जना विद्यार्थी भर्ना लिने अध्यक्ष शेर्पाले बताए।
व्यावसायिक शिक्षा लिनकै लागि लाखौं खर्च गरेर काठमाडौँ धाउनुपर्ने बाध्यता प्राविधिक शिक्षालय खुलेसँगै हटेको छ।
प्रकाशित: १५ असार २०८२, आईतवार