Technology Khabar १३ असार २०८२, शुक्रबार
काठमाडौं ।
अमेरिकी ईकमर्श जायन्ट अमेजनका संस्थापक जेफ बेजोस र लरेन सान्चेजको धेरै प्रतिक्षित विवाह समारोह इटालीको भेनिस शहरमा सुरु भइसकेको छ। बिहीबार राति मध्ययुगीन मडोना डेल’ओर्टो क्लोइस्टरमा आयोजित प्रारम्भिक कार्यक्रमका लागि थुप्रै सेलिब्रिटीहरू भेला भए।
भेनेज सिटी हलबाट जारी गरिएको एक ट्राफिक आदेशले १४औं शताब्दीको उक्त गिर्जाघर वरिपरि दिउँसोदेखि मध्यरातसम्म पैदल हिँड्न रोक लगाएको थियो। सो गिर्जाघर भेनेशियन कलाकार टिनोरेट्टोका कलाकृतिहरूले सजिएको छ।
कार्यक्रमको विवरण गोप्य राखिएको कारण, पाहुनाहरूले सामाजिक सञ्जाल प्रयोग नगरेको देखिएको छ। उनीहरूले सहरको केही झल्को र रातको आँधीसहितको मौसमबाहेक अन्य कुरा सार्वजनिक गरेका छैनन्।
सीएनएनका अनुसार तीन दिनसम्म चल्ने भनिएको वैवाहिक समारोह बिहीबारदेखि शनिबारसम्म हुनेछ, जहाँ करिब २०० जना पाहुनाहरूले दुई वर्ष लामो इन्गेजमेन्टपछि अमेजनका अर्बपति संस्थापक र पूर्व पत्रकार सान्चेजको विवाह उत्सवमा सहभागी हुनेछन्।
रोयटर्सका अनुसार, यी कार्यक्रमहरूमा अनुमानित खर्च करिब ४०–४८ मिलियन युरो (४६.५–५५.६ मिलियन डलर) हुने बताइएको छ। भेनेज पर्यटन परिषद्का सदस्य सिमोने भेन्चुरिनीका अनुसार यस हप्ता आयोजना गरिएका पार्टी र कार्यक्रमहरूबाट शहरले करिब २०–३० मिलियन युरो (२३.४–३५.१ मिलियन डलर) आम्दानी गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको मुख्य भाग आज राति सान जियोर्जियो टापुमा हुने अनुमान गरिएको छ। उनीहरूको कानुनी रूपमा विवाह कहिले भएको (वा यस हप्ता अमेरिका आउनुअघि भइसकेको) भन्नेबारे अझै स्पष्ट छैन।
भेनेज सिटी मेयरको कार्यालयका प्रवक्ताले बिहीबार बताएअनुसार शहरले उनीहरूबाट कानुनी विवाहको कुनै औपचारिक अनुरोध पाएको छैन।
यसको अर्थ यस हप्ताका कार्यक्रमहरू औपचारिक मात्र हुने र कानुनी मान्यता नपाउने सीएनएनले उल्लेख गरेको छ।
प्रकाशित: १३ असार २०८२, शुक्रबार