Technology Khabar १३ असार २०८२, शुक्रबार
काठमाडौं ।
एनभिडियाको सेयर बुधबार ऐतिहासिक उचाइमा पुग्यो र कम्पनी पुनः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भयो। विश्लेषकले कम्पनीले कृत्रिम बुद्धिमत्ताको “गोल्डेन वेभ” अर्थात् सुनौलो लहरमा सवार हुने बताएका खबरपछि यसको सेयर मूल्य उकालो लागेको हो।
क्यालिफोर्नियाको सान्ता क्लारामा आधारित चिप उत्पादक कम्पनीको सेयर ४ प्रतिशतभन्दा धेरैले बढेर १५४.१० मा पुगेको थियो, जुन कम्पनीको अहिलेसम्मकै उच्च मूल्य हो। यो वृद्धिले एनभिडिया को बजार मूल्य ३.७६ ट्रिलियन डलर पुर्यायो, जसले ३.६५ ट्रिलियन डलर बजार मूल्य भएको माइक्रोसफ्टलाई पछि पार्यो। माइक्रोसफ्टको सेयरमा बुधबार ०.२प्रतिशत को वृद्धि भएको टेकक्रञ्चले उल्लेख गरेको छ।
एनभिडियाको पछिल्लो बढोत्तरीमा लूप क्यापिटलको मूल्य लक्ष्य वृद्धि १७५ बाट २५० डलर पुर्याउनु पनि एक मुख्य कारण रह्यो। कम्पनीले आफ्नो “बाइ” रेटिङ यथावत राख्दै भनेको छ, “हामी अब जेनेरेटिभ एआई अपनाउने अर्को ‘गोल्डेन वेभ’ मा प्रवेश गर्दैछौं र एनभिडिया उक्त लहरको अगाडिको अग्रणी कम्पनी हो।”
एनभिडियाको यो बढोत्तरीले अमेरिकाको सेयर बजारमा एआईसँग सम्बन्धित सेयरहरू पुनः आकर्षणमा आएको देखाएको छ। पछिल्ला वर्षहरूमा पनि यस्तो प्रवृत्तिले चिप निर्माताहरू र प्रविधि कम्पनीहरूलाई धेरै लाभ पुर्याएको थियो।
हाल एनभिडियाको सेयर मूल्य आगामी १२ महिनाको अनुमानित आम्दानीको ३० गुणामा कारोबार भइरहेको छ, जुन पछिल्लो पाँच वर्षको औसत ४० गुणाभन्दा कम हो। यसको अर्थ, कम्पनीको आम्दानी अपेक्षा भन्दा छिटो बढिरहेको छ, जसले गर्दा मूल्य वृद्धि तुलनात्मक रूपमा सन्तुलित देखिन्छ।
गत वर्षभरि एनभिडिया, माइक्रोसफ्ट र एप्पलले विश्वकै सबैभन्दा मूल्यवान कम्पनीको उपाधिका लागि पटक–पटक स्थान अदल–बदल गरेका छन्। जूनको सुरुमा माइक्रोसफ्ट माइक्रोसफ्ट एनभिडियालाई पछि पारेर अग्रता लिएको थियो।
एप्पलको सेयर बुधबार ०.४ प्रतिशतले बढ्दा कम्पनीको मूल्य ३ ट्रिलियन डलर पुगेको थियो।
प्रकाशित: १३ असार २०८२, शुक्रबार